काठमाडाैँ ।आर्थिक वर्ष २०८१÷०८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्व ९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।
वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडिबुटी लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै दुई महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, रासायनिक मल, दूरसंचार उपकरण तथा पार्ट्स, लसुन लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम।एस। विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
त्यस्तै दुई महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई २खर्ब ३७ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS