काठमाडौं । गत शुक्रबार भएको राजावादी आन्दोलनमा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गर्ने ९ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले पक्राउ परेका सबैको विवरण पनि सार्वजनिक गरेको छ ।
ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् ।
भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिसा राई, क्यारेट लुटमा संलग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् ।
हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् ।
फलफूल लुटमा संलग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् ।
FACEBOOK COMMENTS