काठमाडौं । भाटभटेनी सुपर मार्केटले आफ्ना सबै कर्मचारीलाई दसैँ बोनससहित पूरै तलब दिने बताएको छ ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा अधिकांश शाखा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि त्यहाँ काम गर्ने कर्मचारीले रोजगारी गुमाउने अनुमान भइरहेका बेला गुरुङले सबै कर्मचारीलाई भदौ महिनाको तलबका साथै दसैँ बोनससमेत दिने घोषणा गरेका हुन् ।
उनको यो घोषणाबाट भाटभटेनीमा कार्यरत कर्मचारीहरूमा निक्कै खुसी छाएको छ । साथै उनले क्षतिग्रस्त शाखामा काम गरिरहेका कुनै पनि कर्मचारीको रोजगारी कटौती नगरिने पनि बताएका छन् । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एक सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘मसँग आबद्ध भाइ बहिनीहरूको भविष्यका लागि लड्नुपर्ने छ । काम गर्न नपाए पनि उहाँहरूको तलब दिन्छु । भदौको तलब मात्र होइन दसैँ बोनस पनि पठाउँछौँ ।’
आफ्ना कर्मचारीहरूलाई परिवारको सदस्य भन्दै उनले थपे, ‘म चाहिँ दसैँ मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरू जो मसँग आबद्ध छन् । उनीहरूले त दसैँ मान्नुपर्छ नि । दसैँको बोनस पनि पाउँछन् ।’
यस्तै, भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले विद्यमान परिस्थितिमा कुनै पनि कर्मचारी नहटाइएको जानकारी दिँदै हाल बन्द रहेका शाखाका कर्मचारीलाई सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको जानकारी दिए । उनका अनुसार भाटभटेनीमा हाल १० हजार कर्मचारीले रोजगारी पाइरहेका छन् ।
भदौ २४ गतेको प्रदर्शनको क्रममा भाटभटेनी सुपरमार्केटको केन्द्रीय कार्यालयसहित २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैती र आगजनी भएको छ । नौ वटामा तोडफोड तथा चोरी डकैती भएको थियो भने सात वटा सुरक्षित रहेका थिए ।
उक्त घटनाबाट भाटभटेनीमा १५ अर्ब रुपैयाँसम्मको क्षति भएको अनुमान अध्यक्ष गुरुङले गरेका छन् । यद्यपि, क्षतिको यकिन विवरण सङ्कलन भइसकेको छैन ।
यो पनि पढ्नुहोस्–
भाटभटेनीका यी तीन शाखाले डुबाउने भयो मिनबहादुर, आपूर्ति प्रणालीमै सङ्कट आउने चिन्ता
FACEBOOK COMMENTS