काठमाडौं । नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोरको दोस्रो निवेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ। न्यायाधीशहरु प्रकाशमानसिंह राउत, टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासले सुनवाइ गर्दैछ।
पूर्ण इजलासले यसअघि संयुक्त इजलासबाट भाटभटेनीलाई दोषी ठहर गर्ने निर्णय बदर गर्ने कि सदर भन्नेबारे निर्णय सुनाउनेछ।
पूर्णले यसअघिको आदेश सदर गरेमा नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले राजश्व ठगी गरेको ठहर हुनेछ भने बदर गरेमा उसले सफाइ पाउनेछ।
२०७६ पुस २६ गते नक्कली भ्याट बिल प्रकरणमा लगातार पाँच वर्षसम्म सुनुवाइ गर्दै भाटभटेनीलाई दोषी ठहर गरिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तिम फैसला सुनाउँदै पाँच कम्पनीलाई दोषी ठहर गरेको थियो।
प्रधानन्यायाधीश आफैं संलग्न इजलासले भाटभटेनी सुपर मार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्यास, महेश बानियाँ र आईएटी प्रालिलाई दोषी ठहर गरेको थियो।
सर्वोच्चले फैसलाको पूर्णपाठ तयार गरेलगत्तै २०७७ फागुन ३ गते भाटभटेनीले पुनरावेदन मुद्दा दर्ता गरेको थियो। उक्त पुनरावेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले फागुन १२ गते मिसिल झिकाउने आदेश गर्दै मुद्दाको सुरुवात गरेको थियो।
मूल्य अभिवृद्धि कर र आयकरमा भएको कर निर्धारण गैरकानुनी भएको जिकिर गर्दै नक्कली भ्याट बिल प्रकरणमा आफूलाई दोषी ठहर गर्ने फैसला त्रुटिपूर्ण भएको जिकिर भाटभटेनीले गरेको थियो।
भाटभटेनीले दायर गरेको पुनरावेदन चैत १२ गते पेसीमा चढेको थियो। एक पटक संयुक्त इजलासले सुनाएको फैसलालाई चुनौती दिँदै दायर भएको उक्त निवेदनमा न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले मिसिल झिकाउने आदेश गर्दै मुद्दा पुनः ब्युँताइदिएको हो।
FACEBOOK COMMENTS