काठमाडौं । जेन्जीहरूको समूहले भदौ २३ र २४ गते राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा सशक्त आन्दोलन गरी सरकार नै परिवर्तन गरिदिएका छन् ।
खासगरी भ्रष्टाचार र कुशासन अन्त्य गरी मुलुकलाई तीव्र विकासको गतिमा अघि बढाउन दबाब सृजना गर्नेगरी जेन्जीहरूले सुरू गरेको आन्दोलनले अन्ततस् दुई दिनमै सत्तालाई घुँडा टेकाउन सफल भयो । र, अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको छ ।
दुई दिनमै प्राप्त भएको यो उपलब्धिसँगै मुलुकले ठूलो मानवीय र भौतिक क्षति पनि बेहोरेको छ । आन्दोलनका क्रममा कम्तिमा ७४ जनाले ज्यान गुमाएका छन् भने सरकारी र निजी क्षेत्रका गरी खरबौँको भौतिक संरचना ध्वस्त भएका छन् ।
यसै सन्दर्भमा नेपालकै चर्चित र धेरै स्थानमा शाखा विस्तार भएको सुपर मार्केट भाटभटेनीको केन्द्रसहित अधिकांश शाखा कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनी भएका छन् । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार आफ्नो २८ मध्ये २१ वटा शाखामा आन्दोलनकारीले क्षति पुर्याएको जानकारी दिए ।
उनका अनुसार जेन्जी आन्दोलनको क्रममा एक दर्जन शाखा जलेर ध्वस्त भएका छन् भने नौवटा शाखामा लुटपाट र तोडफोड भएको छ । आन्दोलन मत्थर भएसँगै क्षति हुनबाट जोगिएको र आंशिक क्षति भएकाहरूसहित १६ वटा शाखाबाट सेवा सुचारु गरिसकिएको भाटभटेनीले जनाएको छ । बाँकी शाखा पूर्णरूपमा ध्वस्त भएकाले सुचार हुनै नसक्ने अवस्थामा रहेको बताइएको छ ।
सरकारले संयमता गुमाउँदा भदौ २३ गतेको आन्दोलनमा १९ जना कलिला युवाहरूले ज्यान गुमाए । त्यसको आक्रोशमा भदौ २४ गते सडकमा ओर्लिएको अनियन्त्रित भीडले व्यवसायीहरूमध्ये सबैभन्दा बढी निशानामा राखेर मिनबहादुरको सम्पत्तिमाथि आक्रमण गर्यो । यसबाट व्यक्तिगतरूपमा मिनबहादुर गुरुङलाई मात्र नभइ देशलाई नै ठूलो घाटा भएको छ । सर्वाधिक कर बुझाउनेमध्येको एक मुख्य व्यावसायिक संस्था जल्दा हजारौँले रोजगारी समेत गसमाएका छन् । जसका कारण कतिपय परिवारको रोजीरोटी गुमेपछि चुल्हो निभेको अवस्था छ ।
यसैबीच, आक्रमणमा परेका शाखाहरू सबै बीमाको दायरमा रहेको र मिनबहादुरलाई खासै धेरै नोक्सान नहुने आँकलन गरिरहेका बेला जलेर ध्वस्त भएका मुख्य–मुख्य तीनवटा शाखाको बीमा नै नगरिएको सूचना बाहिर आएको छ । यसले मिनबहादुरको व्यावसायिक यात्रामा ठूलो धक्का दिने बुझिएको छ ।
स्रोतका अनुसार भाटभटेनीको मुख्यालय टंगाल, महाराजगञ्ज र चुच्चेपाटीको बीमा नभएको पाइएको हो । जहाँ सबैभन्दा बढी क्षति भएका छन्, जलेका भवनहरू मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा समेत देखिँदैनन् । तीनै शाखाको बीमा नभएपछि अहिले मिनबहादुर छटपटाहटमा छन् । उक्त शाखाको नाममा विभिन्न बैंकमा रहेको कर्जा अवधि सकिए र समयमै नवीकरण नुहँदा बीमासमेत निष्क्रिय रहेको पाइएको छ । बीमा निष्क्रिय रहेकै बेलामा भएको यो घटनाबाट उनले ठूलो आर्थिक क्षति बेहोर्न पर्ने अवस्था सृजना भएको हो ।
बीमा निष्क्रिय भएका कारण उनले करिब तीन अर्ब रुपैयाँ क्षति बेहोर्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ । यो घटनाबाट गुरुङ मात्र नभइ भाटभटेनीमा विभिन्न सामान आपूर्ति गर्ने आपूर्तिकर्ताहरू समेत मर्कामा पर्ने अनुमान गरिएको छ ।
गुरुङ पहिलेदेखि नै भ्याट छली र ललिता निवास जग्गा प्रकरण लगायतका मुद्दामा कारबाही भोग्दै आएका व्यक्ति हुन् । माओवादीले आफूमाथि अन्याय गरेको भन्दै पछिल्लो समय उनी नेकपा एमालेको नेतृत्वसँग नजिक देखिन्थे ।
त्यसमाथि भाटभटेनीमा सामान आपूर्ति गर्नेहरूलाई समयमा भुक्तानी नदिई झुलाउने गरेको तथ्यसहितका समाचारहरू विभिन्न समयमा बाहिर आइसकेकै हुन्थे । त्यस्तै, हिसाबकिताब समेत प्रायस् कागजी आधारमै राख्ने गरेको र कर छल्ने गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ । त्यसैले गुरुङसँगै आपूर्तिकर्ताहरू पनि डुब्ने हुन् कि भन्ने खतरा सृजना भएको छ ।
यो घटनाले गुरुङको व्यावसायिक भविष्य मात्र होइन, बजारमा आपूर्ति प्रणालीमै सङ्कट ल्याउने सङ्केत देखिएको छ ।
FACEBOOK COMMENTS