काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट एक वर्षपछि पुन: सञ्चालनमा आउने भएको छ।
भाटभटेनीले भोली भदौ २४ गते बुधबारदेखि धरानस्थित स्टोर औपचारिक रूपमा पुन: सञ्चालनमा ल्याउन लागेको हो।
गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि उक्त स्टोरमा ठूलो क्षति पुगेको थियो। आगजनी भएको एक वर्ष पूरा भएकै दिन भाटभटेनीले पुन: सेवा सुरु गर्न लागेको हो।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भदौ २४ गतेदेखि पुतलीलाइनस्थित स्टोर नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएका छन्। आगजनीबाट स्टोरमा ठूलो क्षति भएपछि लामो समयदेखि बन्द रहेको स्टोर पुनर्निर्माण तथा व्यवस्थापनपछि सञ्चालनमा ल्याउन लागिएको हो।
पुन: सञ्चालनसँगै ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने तयारी गरिएको कम्पनीले जनाएको छ। ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै स्टोरलाई आवश्यक व्यवस्थापनसहित सञ्चालनमा ल्याइने कम्पनीको भनाइ छ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोर पुन: सञ्चालनमा ल्याउने अवसरमा ग्राहक, शुभेच्छुक तथा सरोकारवालाले निरन्तर दिएको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेका छन्।
जेनजी आन्दोलनका क्रममा उपत्यकाका महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस र नक्साल शाखाका साथै उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानस्थित भाटभटेनीमा आगजनीबाट क्षति पुगेको थियो।
त्यस्तै, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका स्टोरमा आगजनी नभए पनि तोडफोड तथा लुटपाट भएको थियो। टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेड सेन्टर, पाटन र नेपालगञ्जस्थित स्टोर भने सुरक्षित रहेका थिए।
तोडफोड तथा लुटपाट भएका शाखा यसअघि नै सञ्चालनमा आइसकेका छन्। आगजनीबाट ध्वस्त भएका १२ शाखामध्ये ८ वटा पनि पुन: सञ्चालनमा आइसकेका छन्। सुनसरीको धरान, काठमाडौंको नक्साल, मकवानपुरको हेटौँडा र झापाको दमक शाखा सञ्चालनमा आउन बाँकी रहेका छन्।
यीमध्ये धरानस्थित भाटभटेनी बुधबारदेखि सञ्चालनमा आउन लागेको हो। बाँकी शाखासमेत आगामी असोज मसान्तसम्म सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरिरहेको जनाएको छ।