काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका हुन् ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दहाल सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति बनाएको थियो ।
सेबोनको अध्यक्षका प्राप्त ४७ जनाको आवेदनमा भट्टका दाइले पनि आवेदन दिएपछि सिफारिस समितिबाट उनले राजीनामा दिएको बताइएको छ । दाई नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल भट्टले पनि आवेदन दिएपछि नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।
भट्टको राजीनामासँगै सेबोनको अध्यक्ष छनौटको प्रक्रिया केहि समयका लागि अवरुद्ध भएको छ । अब सरकारले सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ ।