काठमाडौं । अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले काठमाडौंको बागमती नदीलाई छ महिनाभित्र निर्मल बनाउन सकिने प्रविधि आफूसँग रहेको दाबी गरेका छन्।
एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा आज सम्पन्न ‘विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान’ विषयक गोष्ठीमा प्रमुख वक्ताका रूपमा बोल्दै प्रा.डा. भट्टले सरकार र सम्बन्धित निकायले साथ दिएमा बागमतीको प्रदूषण समाधान सम्भव रहेको बताए।
त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरिसकेका भट्टले आफूले विगत दुई दशकभन्दा बढी समयदेखि जलश्रोतको गुणस्तर सुधार सम्बन्धी अनुसन्धानमा संलग्न रहेको जानकारी दिए।
उनका अनुसार शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदूषणको मात्रा घटाइने र त्यसपछि आरओ तथा नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जतिसुकै प्रदूषित पानी पनि प्रयोग योग्य बनाइने छ। “यस प्रविधिको व्यावहारिक प्रयोग सफल भइसकेको छ”, उनले भने।
कार्यक्रममा उनले फ्रान्सको सीन नदी र युरोपको राइन नदीको उदाहरण दिँदै कुनै समयमा ती नदीहरू बागमती भन्दा कयौं गुणा बढी प्रदूषित रहेको तर प्रविधिको सहायताले अहिले निर्मल भई पौडिनसमेत योग्य भएको बताए।

नेपालमा व्यक्तिगत पहलमा बागमती नदीको प्रदूषण स्तरको अध्ययन गरिरहेको भन्दै उनले प्रदूषणका कारण र समाधानका लागि गरिएको तथ्याङ्कीय विश्लेषण पनि प्रस्तुत गरे।

गोष्ठीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरू, नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एभरेष्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अनुसन्धान प्रस्तावसमेत प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूका जिज्ञासाको उत्तर दिँदै प्रा.डा. भट्टले नेपाली विद्यार्थी र अनुसन्धानकर्तासँग सहकार्य गर्न आफू सधैं तयार रहेको बताए। उनले आफ्नो ज्ञान र प्रविधि नेपालमा लागू गर्न पाउने अवसर भएमा ठोस योगदान दिन सक्ने धारणा राखे।
गोष्ठीपछि एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रा.डा. भट्टलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा जल तथा मौसमविद् समाज नेपालको सहकार्य रहेको थियो।