काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मुलुकको अर्थतन्त्र सुधारमा सहयोग पुर्याउनेगरी आएको बताएकी छिन् ।
मौद्रिक नीतिमाथि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले घर र शेयर कर्जामा अपनाइएको लचक नीतिले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा सुधारको बाटो समात्ने बताएकी हुन् ।
मौद्रिक नीतिले बैंक, निक्षेप र नीतिगत दर घटाएको चर्चा गर्दै उनले यसबाट बजारमा तरलता व्यवस्थापन गर्न सहज हुने बताएकी छिन् । मौद्रिक नीतिमार्फत बैंक दर ६ दशमलव ५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, निक्षेप दर ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ ।
यस्तै, घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा तीन करोड रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान नीतिमा यस्तो सीमा दुई करोड रुपैयाँ छ । यो नीतिले रियलस्टेटको क्षेत्रमा सञ्जीवनीको काम गर्ने पूर्व अध्यक्ष राणाको भनाइ छ ।
उनले शेयर धितो कर्जामा १५ करोड रुपैयाँको क्याप हटाएर २५ करोड रुपैयाँ पुर्याउनु पनि सकारात्मक भएको बताएकी छिन् । शेयर धितो कर्जामा आएको यो लचिलो नीतिले शेयरबजारमा सकारात्मक प्रभाव पर्नाका साथै मुलुकको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा उनको छ ।
त्यस्तै, मौद्रिक नीतिले साना तथा मझौला (एसएमई) कर्जाका सन्दर्भमा पनि महत्त्वपूर्ण सम्बोधन गरेको उनको भनाइ छ । मौद्रिक नीतिले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउसलगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने नीति लिएको छ ।
त्यस्तै, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरवलोकन गरिने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले लिएका सकारात्मक नीतिहरूका कारण मुलुको अर्थतन्त्र चलायमान हुनाका साथै सुधारले तीव्र गति लिने अपेक्षा उनको छ ।
अर्थतन्त्र चलायमान बनाउन यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)
वित्तीय क्षेत्र र विदेशी विनिमयसम्बन्धी व्यवस्थामा मौद्रिक नीतिले के–के भन्यो ? (बुँदासहित)
लचिलो मौद्रिक नीतिले उद्यमी–व्यवसायी उत्साहित, अर्थतन्त्र चलायमान बन्छ : अध्यक्ष अग्रवाल
FACEBOOK COMMENTS