काठमाडौं । एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भीलले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।
भीलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
साथै, प्रभावित समुदायलाई पुनःस्थापित हुँदै सामान्य जीवनमा फर्किन मद्दत गर्ने दीर्घकालीन पुनर्स्थापनाका प्रयासमा समेत उक्त योगदान उपयोगी हुने अपेक्षा गरिएको छ ।
भीलले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । कम्पनीले उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय र अन्य सहयोगीहरूको प्रयासको प्रशंसासमेत गरेको छ ।
आवश्यकताको समयमा समुदायलाई सहयोग गर्नु आफ्नो जिम्मेवारीको महत्त्वपूर्ण हिस्सा भएको भीलले जनाएको छ । भीलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले कठिन समयमा एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्नेमा जोड दिए ।

उनले भने, “यो कठिन समयमा हामी सबै एकजुट भएर आवश्यकतामा रहेका समुदायको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ । हामीले आफ्नो तर्फबाट मात्र होइन, आगामी दिनमा पनि अर्थपूर्ण रूपमा सहयोग गर्न सकिने उपायहरू खोजिरहनेछौँ । हाम्रो सहयोग सानो प्रयास नै किन नहोस्, त्यसले आवश्यकतामा रहेका व्यक्ति तथा समुदायमा सकारात्मक प्रभाव पार्न सक्छ ।”