काठमाडौं । काठमाडौं महानगरपालिका–२० भीमसेनस्थानस्थित दुईतले घरमा रहेको कपडाको गोदामबाट सुरु भएको आगलागीले सोमबार बिहान चार घर र एक निजी गुठी मन्दिरमा क्षति पुर्याएको छ।
आगो नियन्त्रणका लागि महानगरपालिकाका चार, ललितपुर, भक्तपुर र नेपाली सेनाका समेत गरेर छवटा दमकल परिचालन गरिए पनि आगो पूर्णरूपमा निभिन अझै समय लाग्ने जनाइएको छ। विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आगो करिब ९० प्रतिशत नियन्त्रणमा आएको छ।
स्थानीय स्वीपरले बिहान फोहोर सङ्कलन गर्ने क्रममा आगो देखेर खबर गरेपछि पहिलो दमकल ४:४४ मा घटनास्थल पुगेको थियो। ग्यास सिलिन्डर पड्किँदा आगो झन् भयावह बनेको र पुराना स्टिल स्ट्रक्चरका घरहरू बढी प्रभावित भएको प्रारम्भिक विवरणले देखाएको छ।
आगलागीबाट एक घर पूर्णरूपमा नष्ट, दुई घरमा ५० प्रतिशतभन्दा बढी क्षति र अर्को घरमा करिब २५ प्रतिशत क्षति पुगेको छ। साथै, प्रभावित घरमाथिको निजी गुठी मन्दिर पनि क्षतिग्रस्त भएको जनाइएको छ।
उद्धार क्रममा दुई जना वयस्क र तीन जना बालबालिकालाई सुरक्षित स्थानमा सारिएको छ। नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियताले सम्भावित ठूलो मानवीय क्षति टारेको देखिन्छ।
यो घटनाले काठमाडौंका पुराना बस्ती र गोदाम क्षेत्रको संरचनात्मक सुरक्षा, विद्युत् व्यवस्थापन र दमकल पहुँचबारे गम्भीर प्रश्न उठाएको छ ।
FACEBOOK COMMENTS