काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले फागुन १६ गते भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यस प्रकरणका दोषीलाई सजाय निर्धारण भएको हो ।
भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा समाज कल्याण परिषद्लाई २० करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईका अनुसार पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद र दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिवाना, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ बिगो र थप छ महिना कैद सजाय निर्धारण भएको छ ।
पूर्वमन्त्री टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै एक करोड २१ लाख, ८४ हजार चार सय एक जरिवानाको सजाय निर्धारण भएको छ ।
सातै जनालाई दुई करोड ४३ लाख ६८ हजार८०३ रुपैयाँ जरिवाना, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ बिगो तोकिएको भए पनि फरक फरक कैद सजाय तोकिएको छ ।
प्रमोद मेहतालाई आठ वर्ष छ महिना कैद, हरिप्रसाद न्यौपानेलाई आठ वर्ष कैद, नुमराज शर्मालाई आठ वर्ष कैद, मदनकुमार लाल कर्णलाई आठ वर्ष कैद र रवीन्द्रकुमार यादवलाई आठ वर्ष छ महिना कैद रहेको छ ।
FACEBOOK COMMENTS