काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३७७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३७७ जनाको शव फेला परेको हो ।
जसमा रसुवामा १७८, नुवाकोटमा १९८, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३० जना सम्पर्कविहिन रहेका छन् । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीनमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन् ।
प्राधिकरणले अहिलेसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ६३ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।