काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न साझेदार संघ–संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।
प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहमा प्रभावित परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्न इच्छुक संस्थालाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
प्रस्तावमा संस्थाले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, स्थान र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्नेछ। साथै निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ ।
यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
इच्छुक संस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्नुपर्ने र प्राधिकरणले आवश्यक विवरणसहित सात दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
