काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण गण्डकी तथा बागमती प्रदेशका विभिन्न जिल्लामा ठूलो संख्यामा घर तथा भवनमा क्षति पुगेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागबाट प्राप्त जानकारी अनुसार बाढीबाट रसुवामा १ हजार ७७९, नुवाकोटमा ३ हजार ९७७, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० वटा घर तथा भवनमा क्षति पुगेको छ ।
प्राप्त विवरणअनुसार पाँच जिल्लामा गरी बाढीका कारण कुल ७ हजार ५७० घर तथा भवन प्रभावित भएका छन् । बाढीका कारण कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घर तथा भवनमा आंशिक क्षति पुगेको छ ।
भोटेकोसी नदीमा आएको बाढीले रसुवासहित आसपासका जिल्लामा सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन तथा राहत र पुन:स्थापनाका लागि आवश्यक काम भइरहेको छ ।