रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ ।
भूकम्प गएको एक महिनापछि सार्वजनिक विवरणअनुसार नगरपालिकाका १४ वटै वडामा नौ हजार नौ सय ६२ घरपरिवार पहिचान भएको सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।
शाहका अनुसार अब सोही आधारमा भूकम्पप्रभावितले अस्थायी आवास निर्माणका लागि रकम प्राप्त गर्नेछन् । यसअघि नगरपालिकाका भूकम्प प्रभावित चार हजार पाँच सयले अस्थायी आवास निर्माणका लागि रु २५ हजारका दरले ११ करोड २५ लाख प्राप्त गरिसकेका थिए । शाहका अनुसार अब बाँकी पाँच हजार चार सय ६२ ले पहिलो किस्ता वापतको रकम प्राप्त गर्नेछन् ।
नगरपालिकामा हालसम्म निर्माण भएका अस्थायी आवासको तथ्याङ्क सङ्कलन भइनसकेको उनले बताए । ‘विभिन्न राजनीतिक दलले स्वयंसेवाका रूपमा अस्थायी आवास निर्माण गरिरहेका छन् । केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नुभएको छ । यसको यकिन वितरण नगरपालिकामा आएको छैन । विवरण सङ्कलन गरेर एक दुई दिनभित्र सबै वडा कार्यालयलाई पठाउन भनेका छौँ’, उनले भने ।
केही भूकम्पपीडित अस्थायी आवासमा बसे पनि अधिकांश अझै पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । नगरप्रमुख रवि केसीले मङ्सिरभित्र भूकम्प प्रभावित सबैलाई अस्थायी छानामुनि ल्याउने गरी काम भइरहेको बताए ।
जिल्लाका छवटै पालिकामा आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित १५ हजार छ सय ८९ का लागि पहिलो किस्ताबापत ३९ करोड २२ लाख २५ हजार सम्बन्धित स्थानीय तह विपद् व्यवस्थापन समितिको खातामा पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
FACEBOOK COMMENTS