pa
कर्णाली । सुर्खेतको वीरेन्द्रनगरस्थित ज्योति फाउण्डेसनले जाजरकोट भूकम्पका कारण प्रभावित छात्राहरुलाई पूर्ण छात्रवृत्ति दिएर पढ्न सघाउने भएको छ । भूकम्पबाट आमाबुबा वा आमाबुबामध्ये एकजनालाई गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रालाई उक्त संस्थाले अध्ययन गर्न सघाउने भएको हो ।
सामुदायिक विद्यालयमा कक्षा एकदेखि १० सम्म अध्ययन गर्ने भूकम्पपीडित छात्रालाई अध्ययनका लागि सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिए । उनले भने, “तत्काल २० छात्राको पढाइको खर्च व्यवस्थापन गरिसकेका छौँ ।”
भूकम्पपीडित छात्राका लागि फाउण्डेसनले गत मङ्सिर १५ गते वीरेन्द्रनगरमा आयोजित साङ्गीतिक साँझबाट २२ लाख ७५ हजार सङ्कलन गरेको अध्यक्ष कटुवालले बताए । साङ्गीतिक साँझ कार्यक्रमको व्यवस्थापनमा खर्च भएको नौ लाख ६१ हजार बाहेकको रकम बैंकमा जम्मा गरी त्यसबाट आउने ब्याजले छात्रालाई पढाउन सहयोग गरिने उनको भनाइ छ ।
अध्यक्ष कटुवालका अनुसार फाउण्डेसनको सहयोगमा अध्ययन गर्ने छात्राको स्वास्थ्य उपचार तथा परामर्शका लागि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौताको तयारी छ । छात्रवृत्तिका लागि स्थानीय तहको सिफारिस आवश्यक हुने उनी बताउँछन।
FACEBOOK COMMENTS