काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेका साग खरिद गर्ने भएको छ । साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ ।
सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपिलसमेत गरेको हो । प्रतिकिलो २५ रूपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए ।
उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महँगो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफूसँग हाल रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ ।
‘गाउँपालिकाकै व्यवस्थापनमा गुन्द्रुक बनाएर बिक्री गर्ने योजना बनाइँदै छ,’ खत्रीले भने । काभ्रेको बजारमा खुद्रा मूल्यअनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो ।
यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही प्रवर्द्धन गर्न लागिएको हो । नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेका दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वस्थ भइने नगर प्रमुख टोकबहादुर वाइबाले बताए ।
उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ । नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपक्षी विकास शाखाले जनाएको छ ।
FACEBOOK COMMENTS