बिवेक बिजुक्छे
प्रमुख कार्यकारी अधिकृत (सीईओ), पूजा इन्टरनेशनल/पूजा कन्स्ट्रक्सन प्रालि (फक्सवागनको अधिकृत बिक्रेता)
नाडा अटो शो, २०२४ को पूर्वसन्ध्यामा छौँ, कत्तिको उत्साहित हुनुहुन्छ ?
यो पटकको नाडा अटो शोमा डिजेल/पेट्रोल गाडीहरूको सहभागिता अत्यन्तै न्यून रहने छ । त्यसकारण यो शोको नाम नै ‘नाडा ईभी अटो शो’ राख्नुपर्ने अवस्थामा पुगेको छ । किनकी नाडाको अधिकांश स्टलहरूमा ईभी गाडीहरू नै रहेका छन् ।
भनेपछि तपाइँ त्यति उत्साहित देखिनुभएन ?
नेपालमा धेरै ब्राण्ड होल्ड गर्ने ग्रुप (विशाल ग्रुप) मा हामी पर्छौँ । त्यसमा पेट्रोल ईभी दुवै पर्दछन् । त्यसकारण एकातर्फ इलेक्ट्रिक गाडीको व्यापार बढ्ने भएर खुसी छौँ भने अर्कोतर्फ डिजेल/पेट्रोलबाट चल्ने गाडीको व्यापार घट्ने भो । यसै पनि घटिरहेको अटो बजारमा डिजेज/पेट्रोल वाला गाडीको बिक्री घट्नु राम्रो होइन ।
यद्यपि, यो अटो शो धेरै नै उत्साहपूर्ण र भव्य हुने मैले देखेको छु । अहिले सबैलाई लेक्ट्रिक गाडी चाहिएको छ । त्यसमा पनि ईभी होस् वा आईसीई उनीहरूलाई आफ्नो बजेटमा बढी भन्दा बढी फिचरयुक्त गाडी चाहिएको छ । अहिलेको ट्याक्स प्रणाली अनुसार सबैको बजेटमा ईभी नै परेको छ । त्यसकारण नाडा अटो शोमा यो पटक धेरै भन्दा धेरै सर्वसाधारणको भीड लाग्नेवाला छ । किनकी तपाइँले बाटोमा अहिलेसम्म नदेख्नुभएको धेरै नयाँ गाडीहरू शोमा शोकेस वा लञ्च गरिँदैछ ।
यहाँले आईसीई र ईभीका पनि धेरै ब्राण्ड विशाल ग्रुपले होल्ड गरेको बताउनुभयो । त्यसोभए, नाडा अटो शोमा नयाँ र पृथक कुन–कुन प्रडक्ट देख्न पाइन्छ ?
हाम्रो ग्रुपले आयात र बिक्री गर्ने सबैभन्दा महत्वपूर्ण ब्राण्ड फक्सवागन (भीडब्ल्यू) हो । तर, त्यसमा इलेक्ट्रिक गाडी नआइसकेको भएर यो पटकको नाडा अटो शोमा सो ब्राण्ड रहने छैन । तर, हामीले यो शोमा कमर्सियल गाडीहरूलाई प्राथमिकता दिएका छौँ । चीनको ठूलो दुईवटा कम्पनी ज्वाइलाङ र एसआरएमका कमर्सियल भेहिकलहरू दुईवटा स्टलमार्फत पदर्शनी गर्न लागिरहेका छौँ ।
कमर्सियल गाडीमा आईसीई भन्दा ईभी धेरै सस्तो भएर आएको छ । कमर्सियल गाडीमा हेभी अहिलेनै इलेक्ट्रिक नभए पनि सानाहरू इलेक्ट्रिक नै ठिक छ । अहिले हामीले करिब नौवटा कम्पनीसँग एग्रिमेन्ट गरेका छौँ, तर दुईवटा कम्पनीसँग मात्रै सामान मगाइरहेका छौँ । किनभने जसले आफ्टर सेल्स सर्भिस दिन सक्छ त्योसँग मात्रै सम्झौता गरेर कारोबार गरिरहेका हौँ । यसक्रममा एसआरएम कम्पनीसँग ११ सिटर कमर्सियल भेहिकल, कार्गो, पिकअप मगाएका छौँ । अर्को ज्वयलङ कम्पनीसँग १६ देखि २३ सिटर गाडी मगाएका छौँ ।
मुलुकको आर्थिक अवस्था समस्याग्रस्त छ, सर्वसाधारणसँग पैसा छैन । यस्तो अवस्थामा नाडा अटो शोबाट व्यवसायीले कसरी फाइदा उठान सक्छन् ?
ट्राभल टुर इन्डष्ट्रीबाहेक सबै क्षेत्र अहिले ‘अलमोस्ट’ डाउनमा छ । अर्थतन्त्र भन्नुस् वा व्यापार यो एकै किसिमले अघि बढ्दैन । कहिले अप र कहिले डाउन भइरहन्छ, अहिले हामी डाउनमा छौँ । अझै केही समय लाग्दा (एक देखि तीन वर्ष) तर, मार्केट ‘बुम’ हुन्छ नै । अब जहाँसम्म अटो सेक्टरको कुरा छ, यो मार्केटलाई ‘आर्टिफिसियल’ रूपमै घटाउने खालका कामहरू भए । अटो सेक्टर जोडिएको फाइनान्सिङसँग हो, तर नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरूमा यो क्षेत्रलाई ‘डिस्करेज’ गरिदियो ।
त्यसकारण इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भने पनि आईसीई गाडीमा ५० प्रतिशत भन्दा बढी फाइनान्स गर्न सकिने अवस्था छैन । त्यो पनि यसलाई अत्यधिक जोखिम भार भएको सम्पत्तिका रूपमा गणना गरिएको छ । त्यसकारण बैंकले पनि फाइनान्स गर्न मानिरहेका छैनन् । फाइनान्सबेगर गाडी किन्न वा बेच्न सकिने अवस्था छैन, यो सबैलाई जगजाहेर विषय हो । यदि यो क्षेत्रलाई उठाएर मुलुककै अर्थतन्त्र चलायमान बनाउन सरकार चाहान्छ भने आईसीई गाडीको पनि ८० प्रतिशत फाइनान्स सुविधाको व्यवस्था गरिनुपर्दछ । त्यसलाई सात/आठ वर्षको सजिलो पनि बनाइनुपर्दछ । यसो गर्दा सरकारले ट्याक्स पाउँछ । अहिले हेर्नुहुन्छ भने एउटा नेपालीले ४० लाख रूपैयाँ मूल्य पर्ने गाडी किन्दा त्यसको आयात मूल्य १० लाख रूपैयाँ मात्रै हुने गरेको छ भने बाँकी ३० लाख रूपैयाँ सरकारकै ढुकुटीमा जाने हो । तर, अहिले ट्याक्स उठाउन नसकेर सरकार स्वयम् टाट पल्टिएको अवस्था छ । राष्ट्र बैंकले पर्याप्त ट्याक्स उठाउन मिल्नेगरी नीति दिएको छैन । त्यसकारण नेपालमा आफ्नो इकोनोमी आफैंले डाउन गर्ने काम भइरहेको छ ।
तपाइँले सुझाउनुभएका यी उपाय सरकारलाई थाहै नभएर यस्तो गरिएको त पक्कै होइन होला, के कारणले सरकार अलमलिइरहेको देख्नुहुन्छ ?
हामी विशुद्ध व्यापारी भएकाले यो विषयमा टिप्पणी गनै उपयुक्त हुँदैन । तपाइँले सोधिहाल्नुभएपछि यत्ति चाहिँ भनौँ– हामीले देख्दा राजनीतिक दल र राष्ट्र बैंकबीच कुनै असहमति भएको हुनुपर्दछ । सरकार राजस्व नउठेर हैरान छ, हामी व्यापारी व्यापार नभएर हैरान छौँ । केही उपाय खोज्दा सबैलाई राम्रै हुने देख्छु ।
आफ्टर सेल्स सर्भिस कसरी उपलब्ध गराइरहनुभएको छ ?
अहिले हामीले पूर्वदेखि पश्चिमसम्मकै डिलरहरूमा सेल्स काउन्टरहरू बन्द गरेका छौँ र सर्भिसमात्रै दिइरहेका छौँ । जस्तोः विराटनगर, वीरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्जलगायत विभिन्न ठाउँमा हाम्रो सेल्स सर्भिसहरू सञ्चालनमा छन् । एक पटक गाडी बेचिसकेपछि कम्तिमा १० देखि २० वर्षसम्म आफ्टर सेल्स सर्भिस दिनुपर्छ भन्ने हाम्रो मान्यता छ । कुनै पनि गाडी बिग्रियो भने दुई घण्टाभित्र स्पटमै सर्भिस उपलब्ध गराउने गरेका छौँ । अरुले गाडी र डिस्काउन्ट बेच्नुहुन्छ हामीचाहिँ सर्भिस बेचिरहेका छौँ ।
नेपालमा विद्युतीय गाडीको प्रयोगसँगै बढिरहेको चुनौतीलाई कत्तिको ख्याल गर्नुभएको छ ?
विद्युतीय गाडीहरूमा देखिन थालेको सबैभन्दा ठूलो चुनौती भनेकै दक्ष प्राविधिकहरू नै हो, जो नेपालमा तत्काल उपलब्ध छैनन् । सस्तो भनेर हामी झ्यापझुप गाडी किनिरहेका छौँ, तर कुनै पनि सानो भन्दा सानो समस्या आयो भने पनि त्यसलाई समाधान गर्न अहिले अधिकांश इम्पोटरहरूसँग म्यानपावर छैन । किनकी यो नयाँ टेक्नोलोजी हो । त्यसकारण मसँग आवद्ध रहनुभएका ५५–६० जना म्यानपावरलाई विद्युतीय गाडीका लागि ‘एक्सपर्ट’ बनाउने कार्यमा म लागिरहेको छु । हाम्रो अफिसियल युट्युवमार्फत पनि जनचेतना दिने तयारी गर्दैछौँ । गाडी बेच्ने बेलामा उपभोक्ताको घरको विद्युत् वायरिङ र क्षमताबारे सचेत गराइरहेका हुन्छौँ ।
गाडी बेच्दा धेरै मार्जिन राख्नुहुन्छ र उपभोक्तालाई महङ्गो मूल्य असुल्नुहुन्छ भन्ने गुनासोमाथि यहाँको धारणा के छ ?
गाडी आयात पछि पनि हाम्रो वितरण खर्च, बैंकको व्याज, सर्भिस सेन्टर, शोरुम र तिनमा काम गर्ने कर्मचारीको व्यवस्थापन, बिजुली, भाडा र अन्य यावत खर्चहरूका कारण केही मार्जिन राख्नैपर्ने स्थिति हुन्छ । यो नौलो विषय होइन । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS