काठमाडाैं । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी छन् ।
पूर्व राष्ट्रप्रमुखको सेवासुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि उनले सेवासुविधा फिर्ता गर्ने भएकी हुन् ।
उनले साउन १ गतेदेखि लागू हुने गरी सरकारलाई सेवासुविधा फिर्ता गर्ने पत्र पठाउने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ ।
भण्डारीले शितल निवास छाड्दा नै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्दै उनी आफ्नै निवास फर्किएकी थिइन् । त्यसयता उनले सरकारले दिने तलब, निवास खर्च लिएकी छैनन् ।
अहिले सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ । उनले सरकारी गाडी लिएकी छैनन् तर उनको इन्धन खर्च पनि सरकारले नै व्यहोर्दै आएको छ ।
भण्डारीले यही असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमका बीच एमालेको सक्रिय राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी थिइन् ।
FACEBOOK COMMENTS