काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय कमिटीको निर्णयअनुसार नेकपा (एमाले) मा आफ्नो भूमिका स्पष्ट हुने बताएकी छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटी नै पार्टीको सर्वोच्च निकाय भएकाले केन्द्रीय कमिटीले नै आफ्नो भूमिका स्पष्ट गर्ने बताइन् ।
विधान महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिहरूले भाग लिने हो भन्दै भण्डारीले त्यसपछि पनि केन्द्रीय सदस्य थपिएको र प्रतिनिधि थप्न मिल्ने बताइन् । अहिले पार्टीका विभिन्न निकायमा आएका नयाँ नेतृत्वको विधान महाधिवेशनमा कसरी प्रतिनिधित्व हुन्छ भन्ने केन्द्रीय कमिटीको छलफलको विषय भएको बताइन् ।
साथै, उनी राष्ट्रपति हुँदा संसद भङ्ग गरेकोबारे सोधिएको प्रश्नको जवाफ दिँदै भण्डारीले आफूले मन्त्रिपरिषदको सिफारिसअनुसार नै संसद भङ्गको निर्णय गरेको र त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दबाब नरहेको बताएकी छन् ।
FACEBOOK COMMENTS