दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखा वडा अधिवेशनमा होमिएको छ ।
जिल्ला र पालिका अधिवेशन सफलतापूर्वक सम्पन्न गरी वडा अधिवेशनमा केन्द्रित भएको एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । उनका अनुसार पार्टीका सङ्गठनहरू पुनर्निर्माण र आवश्यकता अनुसार नयाँ निर्माण गरी वडा अधिवेशनहरू सुरू भएको हो ।
यसैबीच जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बिगु गाउँपालिकामा पनि वडा अधिवेशनहरू धमाधम भइरहेका छन् । कुल आठ वटा वडा रहेको सो पालिकाकामा शुक्रबार र शनिबार गरी दुईवटा वडाको अधिवेशन सम्पन्न भएका छन् । वडा नं. २ ओराङ र वडा नं. ३ बुलुङको अधिवेशन सम्पन्न भएको बिगु गाउँपालिकाको इञ्चार्ज समेत रहेका जिल्ला कमिटी सचिवालय सदस्य अचुतम केसीले जानकारी दिए ।
उनका अनुसार जिल्ला कमिटी सदस्य ओमकृष्ण आचार्यको इञ्चार्जशीप रहेको वडा ओराङबाट शुक्रबारदेखि बिगु गाउँपालिकामा वडा अधिवेशन सुरू गरिएको हो । त्यस क्रममा ओराङमा यमबहादुर गुरुङको नेतृत्वमा २३ सदस्यीय, बुलुङमा कुमार विश्वकर्माको नेतृत्वमा २७ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ । बुलुङको अधिवेशनको क्रममा त्यहाँका पुराना कम्युनष्टि नेता ७७ वर्षीय गजेन्द्र बहादुर मल्ललाई सम्मान गरिएको छ ।
‘जिल्ला कमिटीको बैठकले यही जेठभरिमा वडा अधिवेशनहरू सक्नुपर्नेगरी गरेको निर्णय अनुसार हामीले वडाको अधिवेशनहरू सुरू गरेका हौँ, जिल्ला कमिटी सदस्य ओमकृष्ण आचार्यले भने, ‘अब वर्षायाम सुरू भएसँगै ग्रामीण क्षेत्रका हाम्रा आमाबुबा र दाजुभाइ तथा दिदीबहिनीहरू खेतीपातीमा व्यस्त हुने समय सुरू हुन लाग्यो । त्यसअघि नै सबै वडाको अधिवेशन सम्पन्न गर्नेगरी हामीले जिल्ला कमिटीको निर्णयबमोजिम तत्काल अधिवेशन सुरू गरेका हौँ ।’
अधिवेशनमा जिल्ला कमिटी सचिवालय सदस्य एवम् बिगु गाउँपालिकाका इञ्चार्ज अचुतम कटवाल, सचिवालय सदस्य एवम् सह–इञ्चार्ज देविका थामी, जिल्ला कमिटी सदस्यहरू ओमकृष्ण आचार्य, टीकाराम तामाङ र रिनन पोखरेल, नेकपा एमाले बिगु गाउँपालिका अध्यक्ष प्रवीण कुमार खड्कालगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष केशव आचार्य, बिगु गाउँपालिका काठमाडौं सम्पर्क मञ्चका उपसचिव अनुराग दाहाललगायत नेताहरूको पनि सहभागिता थियो ।
FACEBOOK COMMENTS