काठमाडौं । भारत स्थित बिहारको नयाँ सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको छ । बजेट ७९ वर्षीय अर्थमन्त्री विजेन्द्र यादवले प्रस्तुत गरेका थिए र यो केवल ११ मिनेट ३५ सेकेन्डसम्म चलेको थियो ।
यो २००५ पछि सत्तामा रहेको नीतीश कुमारको सरकारले प्रस्तुत गरेको सबैभन्दा छोटो बजेट भाषण थियो । बिहारमा यस वर्षको बजेट ३.४७ लाख करोड भारु रहेको छ । जुन अघिल्लो ३.१६ लाख करोड भारुको बजेटभन्दा ३० हजार करोडले बढी हो ।
बजेट भाषणपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव आनन्द किशोरले औद्योगिकीकरण यस बजेटको मुख्य केन्द्रबिन्दु भएको बताए । यसबाहेक, शहरी विकास, पर्यटन, स्वास्थ्य र शिक्षा पनि सरकारको एजेन्डामा रहेको उनले बताए ।
बजेट नीतीश कुमार सरकारले घोषणा गरेको सात निश्चय भाग तीनमा पनि केन्द्रित छ । सात निश्चय भाग तीनमा प्रतिव्यक्ति आय दोब्बर गर्ने, १ करोड रोजगारी सिर्जना गर्ने, महिला सशक्तिकरण गर्ने र सबैको जीवन सहज बनाउने जस्ता संकल्पहरू समावेश छन् ।
पत्रकारहरूले अर्थमन्त्री विजेन्द्र यादवलाई छोटो बजेट भाषणको बारेमा सोध्दा उनले लामो भाषण दिएर के हुन्छ ? भन्ने जावफ दिएका थिए ।

FACEBOOK COMMENTS