काठमाडौं । भारतको बिहारको विधानसभा चुनावमा ६६.९१ प्रतिशत मतदान भएको छ । यो सन् १९५१ पछि राज्यमा भएको सबैभन्दा बढी मतदान हो । १९५१ मा बिहारमा ७१ प्रतिशत मतदान भएको थियो ।
यसैबीच, यसपटक बिहारमा यसको इतिहासमा सबैभन्दा धेरै महिला मतदाताहरूले मतदान गरेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । बिहारमा नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान भएको थियो ।
बिहारमा महिलाहरूले ७१.६ प्रतिशत रेकर्ड मतदान गरेका छन्, जबकि पुरुषहरूले ६२.८ प्रतिशत मतदान गरेका छन् ।
यस तथ्याङ्कमा सेवा मतदाता, ट्रान्सजेन्डर व्यक्तिहरू र हुलाक मतपत्रहरू समावेश नरहेको बताइएको छ । अन्तिम तथ्याङ्क निर्वाचन आयोगले पछि जारी गर्ने बताएको छ ।
साथै, पहिलो पटक छ देशका १६ प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षक कार्यक्रमअन्तर्गत मतदान प्रक्रिया अवलोकन गरेका थिए । यसमा दक्षिण अफ्रिका, इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, बेल्जियम र कोलम्बियाका प्रतिनिधिहरू समावेश थिए ।

२४३ विधानसभाका लागि भएको मतदानमा २६१६ उम्मेदवार चुनावी मैदानमा थिए । यस चुनावका लागि ७ करोड ४५ लाख मतदाता रहेका थिए । चुनावको मतगणना नोभेम्बर १४ मा हुने छ ।

FACEBOOK COMMENTS