काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमै नयाँ इतिहास रचेको छ ।
जीवन बीमा क्षेत्रमै पहिलो मर्जर सफल गरी कम्पनीले एक उज्जवल शुरुवात गरेको हो । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । गत असारमा प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको कम्पनीका सीईओ प्रकाश बिक्रम खत्रीले बताए ।
सूर्यको ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको सीईओ खत्रीले बताए । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको समेत बताए ।
मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात् सूर्यज्योतिको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।
सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको स्मरण गर्दै सीईओ खत्रीले भने( ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो ।’
साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं, त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आफ्नो जिम्मेवारी पुरा गरी सूर्य र ज्योति जस्तै छाउँदै जान शुभकामना दिएका छन् । ‘१५ वर्षको सूर्य लाइफ र ५ वर्षको ज्योति लाइफ जोड्दा २० वर्षको अनुभव नभई ७५ वर्षको होस्,’ शुभकामना दिँदै उनले भने ।
साथै, अध्यक्ष पौडेलले सूर्य लाइफ र ज्योति लाइफबीचको मर्ज अन्य मर्जरमा जाँदै गरेको कम्पनीलाई उदाहारण बन्ने समेत बताए । सूर्यज्योतिले आगामी दिनमा ट्रेण्ड सेटरको रुपमा काम गर्ने र यसले जीवन बीमा क्षेत्रको पहुँचलाई बढाउनमा जीवन बीमक संघ विश्वस्त रहेको अध्यक्ष पौडेलको भनाई छ ।
यता सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सूर्यज्योतीलाई नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । बीमा प्राधिकरणको लक्ष्य अनुसार बीमा कम्पनीहरु अघि बढेको बताउँदै उनले मर्जरमा कर्मचारी व्यवस्थापनको पाटो निकै चुनौतिपूर्ण रहेको बताए ।
त्यसैगरी, कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले सूर्यले ज्योति र ज्योतिले आफ्नो श्रोत सूर्य पाएको बताएका छन् । यसले नयाँ बनेको कम्पनी सूर्यज्योतिको भविष्य थप बृहत, सबल र विशाल हुने शुभेच्छा दिए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र नयाँ इतिहास राखेको बताएका छन् । कम्पनीले ६ महिनाको अवधिमै मर्जर सफल पारेको बताउँदै बीमा प्राधिकरण लगायत कम्पनीको सम्पूर्ण टीम धन्यवादको पात्र रहेको समेत बताएका छन् ।
मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
FACEBOOK COMMENTS