काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा नेपालका विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा क्षेत्रकाे समसामयिक विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य बीमा क्षेत्रको समग्र विकास र विस्तार, विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा बीमाको पहुँच अभिवृद्धि, डिजिटलाइजेशनको कार्यान्वयन, र जनशक्ति विकास लगायतका विषयमा समन्वयात्मक सहकार्यलाई थप प्रभावकारी बनाउने रहेको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा पहुँच विस्तार गर्दै आम नागरिकलाई लाभ पुग्ने गरी अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्रमा बीमाको पहुँच पुर्याउन ज्ञान, विज्ञता र अनुभव आदान–प्रदानको अपेक्षा व्यक्त गरे।
प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सीमित स्रोतसाधनको उपयोग, दोहोरो कार्य प्रणालीको अन्त्य, लक्षित समुदायसम्म पहुँच र नयाँ जोखिमप्रति वित्तीय संरक्षण दिने नविन मोडेलको विकासमा सहकार्य आवश्यक रहेको उल्लेख गरे।
अन्तक्र्रिया कार्यक्रममा सहभागी विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरू—जसमा विश्व बैंक, एडीबी, यूएनडीपी, जीआईजेड, डब्लुडब्लुएफ नेपाल, आईयुसिएन, स्टोन स्टेप, प्राक्टिकल एक्सन लगायतका संस्थाहरू थिए—ले नेपाल बीमा प्राधिकरणले अगाडि सारेको जोखिममा आधारित बीमा नियमन र डिजिटलाइजेशनप्रति प्रशंसा व्यक्त गरे।
उनीहरूले जलवायु परिवर्तन, प्राकृतिक विपत्ति तथा वन्यजन्तुजन्य क्षति, बीमा दाबी सरल बनाउने, लघु बीमालेखको विकास, बीमा सचेतना तथा अनुसन्धान प्रवर्द्धनजस्ता क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
कार्यक्रममा नेपाल जीवन बीमक संघ, नेपाल बीमक संघ, नेपाल लघु बीमक संघका अध्यक्षहरू, पुनर्बीमा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तक्र्रिया कार्यक्रमले नेपालको बीमा क्षेत्रको दिगो विकास र सामाजिक समावेशीतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS