काठमाडौं । सहायता वितरणमा कमी आएकाले यस हिउँदमा करिब तीन लाख ४५ हजार गाजाबासीले ‘विनाशकारी’ स्तरको भोकमरीको सामना गर्ने संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले बुधबार बताएका छन्। साथै उनीहरूले प्यालेस्टिनी क्षेत्रभर अनिकालको निरन्तर जोखिमबारे चेतावनी दिएका छन्।
राष्ट्रसङ्घीय एजेन्सी र गैरसरकारी संस्थाहरूले सङ्कलन गरेको वर्गीकरणअनुसार यो सङ्ख्या हाल ‘विनाशकारी खाद्य असुक्षा’ अनुभव गरिरहेका एक लाख ३३ हजार मानिसबाट बढेको हो।
यस गर्मीमा मानवीय सहायतामा वृद्धिले गाजाबासीहरूलाई केही राहत दिएको भए पनि मार्च यताकै सबैभन्दा कम मात्रामा व्यापारिक एवं मानवीय आपूर्तिहरू सेप्टेम्बरमा प्रवेश गरेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) प्रतिवेदनमा उल्लेख छ।
यसबाट सन् २०२४ नोभेम्बर र सन् २०२५ अप्रिलबीच विनाशकारी खाद्य असुरक्षा– आइपिसी चरण ५– अनुभव गर्नेहरूको सङ्ख्या सम्भवतः तीन लाख ४५ हजार पुग्नेछ र यो कूल जनसङ्ख्याको १६ प्रतिशत हो।
“हालैको सहायतामा तीव्र गिरावटलाई उल्टाइएन भने आगामी महिनामा परिवारले आफूलाई खुवाउने र आवश्यक वस्तु तथा सेवाहरूमा पहुँच प्राप्त गर्ने क्षमतालाई गम्भीर रूपमा सीमित गर्नेछ”, प्रतिवेदनमा उल्लेख छ।
“व्यापारिक आपूर्तिहरू घटेका छन्, ठूलो मात्रामा विस्थापन भएको छ, पूर्वाधार नष्ट भएको छ, कृषि क्षेत्र तहसनहस भएको छ र मानिससँग पैसा छैन”, राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसेनले भने, “यी सबै कुरा नोभेम्बरदेखि अवस्था झन् खराब हुनेछन् भन्ने आइपिसीको अनुमानमा प्रतिबिम्बित छन्।”
अमेरिकाले मङ्गलबार इजरायललाई ३० दिनभित्र गाजा पट्टीमा सहायता वितरणमा सुधार नगरे अर्बौं डलरको सैन्य सहायताको केही भाग रोक्न सकिने चेतावनी दिएको थियो।
प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले बुधबार गाजा क्षेत्रमा अनिकालको जोखिमबारे चेतावनी दिएका थिए। गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले गाजाको विशाल क्षेत्रहरू तहसनहस भएका छन्।
“द्वन्द्व जारी रहेसम्म र मानवीय पहुँच सीमित रहेसम्म सन् २०२४ नोभेम्बर र सन् २०२५ अप्रिलबीच अनिकालको जोखिम कायमै रहन्छ”, आइपिसी प्रतिवेदनले भनेको छ, “लगातार खुम्चिँदै गएको क्षेत्रमा जनसङ्ख्याको अत्यधिक सघनताले अस्थायी आश्रयस्थलमा बस्ने, मानवीय आपूर्ति र सेवाहरूमा अनियमित पहुँच, महामारी फैलने र अभूतपूर्व मात्राको विपत्तिमा परिणत हुने जोखिमलाई बढाउँछ।”
नोभेम्बर र अप्रिलबीच ६ महिनादेखि चार वर्ष उमेरका अनुमानित ६० हजार बालबालिकालाई कुपोषण हुने अपेक्षा गरिएको छ।
“तीव्र भोक र कुपोषणलाई रोक्न हामीले अहिले नै काम गर्नुपर्छ”, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका उपमहानिर्देशक बेथ बेचडोलले भने, “तुरुन्तै शत्रुता रोक्न, आगामी हिउँदे बाली लगाउने मौसमका लागि समयमै वितरण गर्न महत्त्वपूर्ण र आवश्यक खाद्य सहायता र कृषि सामग्रीहरूमा मानवीय पहुँच पुनःस्थापना गर्न उनीहरूलाई खाद्यान्न उत्पादन गर्न अनुमति दिन आवश्यक छ।”
FACEBOOK COMMENTS