काठमाडौं । गण्डकी प्रदेशका सामाविक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले जेन्जी आन्दोलनका नाममा आफूमाथि गरिएको विनाश आन्दोलन नभएर नियोजित अपराध भएको बताएका छन् ।
उनले आफ्नो घर र व्यावसायिक प्रतिष्ठानहरूमा नियोजित तवरबाट लुटपाट, तोडफोड र आगजनी गरिएको बताउँदै आफूमाथिको उक्त घटना नियोजित अपराध भएको बताएका हुन् ।
यही भदौ २३ र २४ गते देशभर भएको जेनेरेशन जेड अर्थात् जेन्जीहरूको आन्दोलनका क्रममा मन्त्री थापाको निजी निवासदेखि दशकौँको मेहनत र परिश्रमबाट खडा गरिएको सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरू पूर्णरूपमा ध्वस्त पारिएको छ । उक्त घटना आन्दोलनका नाममा भएको गम्भीर अपराध भएको र दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्न सङ्घीय सरकारसँग आग्रह गरेका छन् ।
उनले जेन्जीको आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरेर देशभर लुटपाट, तोडफोड र आगजनीका घटना घटाइएको बताएका छन् । ‘भदौ २३ गतेको आन्दोलनमा कालिला नानीबाबुहरूसहित १९ जनाले ज्यान गुमाउँदा अत्यन्त पीडावोध महसुस गरायो । जुन हिसाबले मानवीय क्षति भयो, मन विक्षिप्त भयो,’ उनले भने, ‘तर, भोलिपल्टको आन्दोलनमा जसरी घुसपैठ भयो, अराजक समूहले ध्वंश मच्चायो, त्यसले देशमा ठूलो आर्थिक तथा ऐतिहासिक अभिलेख, दस्तावेज नष्टमात्रै गरेन, ममाथि ठूलो अपमान र दुश्मनी साँधियो । आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरे र त्यसैको बाहानामा मेरो घर, मेरो पसिना र मेरो सपना नियोजित रूपमा लुटपाट, तोडफोड र आगोले खरानी पारिदिए ।’
आफ्नो परिवारको जीविकोपार्जन मात्र नभइ हजारौँ युवायुवतीलाई रोजगारी सृजना गर्ने उद्देश्यका साथ जीवनभर पसिना बगाएर, दिनरात नभनी सङ्घर्ष गर्दै आफ्नो परिवारको सुख–दु:खसको समेत परवाह नगरी कडा मेहनतका साथ उनले व्यावसायिक प्रतिष्ठानहरू खडा गरेका थिए । तर, आफू बस्ने घरससहित सबै व्यावसायिक प्रतिष्ठानहरू क्षणभरमै खरानी पारिँदा थापाको हृदय भक्कानीइरहेको छ ।
जागिरबाट प्राप्त उपदान र पैत्रिक सम्पत्तिलाई जोडेर उनले २०६० सालमा मोटरसाइकल वर्कशप सञ्चालन गरी आफ्नो व्यावसायिक यात्रा सुरू गरेका थिए । त्यसपछि यो तीन दशकको अवधिमा उनले रि–कन्डिशन, अटोमोबाइल, वित्तीय संस्था, घरजग्गा आवास, आतिथ्य र पर्यटनसम्म सेवा विस्तार गरेका थिए । यो यात्रामा बैंकले घरको ढोका ढकढक्याएको, घाटामा कम्पनी चलिरहँदा पनि पारिश्रमिक नरोक्नका लागि अनेक दु:ख गरेको र निराशाले ढाकेको लामो रातहरू आफ्नो स्मृतिमा ताजै रहेको उनी बताउँछन् । तर, ती सबै कष्ट सहेर हजारौँलाई रोजगारी सृजना गर्न पाउँदा उनले विगतका ती दु:ख र कष्टहरूलाई बिर्सिएका थिए ।
तर, आज आफ्नो इमान र श्रमलाई कलंकित गर्दै भ्रष्टाचारको निराधार आरोप लगाएर आफ्नो सम्पूर्ण सपना र सम्पत्ति खरानी पारिएकोमा उनले दु:ख व्यक्त गरेका छन् । बास बस्ने घरसमेत रानी पारिएको अवस्थामा परिवारको सदस्यहरूमा परेको गहिरो चोट आफूले शब्दमा बयान गर्न नसक्ने उनले बताए । ‘जसले जीवनभर इमानदारीलाई धर्म ठानेर पसिना बगायो, उसलाई दोषी मान्नु योभन्दा ठूलो अन्याय के होला,’ उनले भने ।
आम जनताको जनजीविका र खासगरी युवाहरूको भविष्यमा नयाँ आयाम ल्याउन सकिन्छ कि भन्ने हेतुबाट राजनीतिमा जोडिएको बताउँदै मन्त्री थापाले सांसद र मन्त्री भएबापत प्राप्त गर्ने भत्ताहरू विपदमा परेकाहरू, असहाय, बिरामी, बेसहारा परिवारका लागि खर्च गर्ने गरेका थिए ।
‘मैले राजनीति व्यक्तिगत स्वार्थका लागि रोजेको होइन । बरु राजनीति भनेको जनताका लागि, युवाको भविष्यका लागि, जनजीविकासँग जोडिनुपर्ने बाटो हो भन्ने विश्वासले नै व्यवसायबाट राजनीतिमा प्रवेश गरेको हुँ,’ मन्त्री थापाले भने, ‘राजनीतिले मलाई पद वा प्रतिष्ठा होइन, जनताको पीडा कम गर्ने बाटो देखायो । यही सोचले गर्दा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यको रूपमा निर्वाचित भएँ । जनताले दिएको विश्वासको कदर गर्दै २०७८ मा कानुनमन्त्रीको रूपमा सेवा गर्ने अवसर पाएँ । फेरि २०७९ सालमा पनि जनताले मत दिएर प्रदेश सभा सदस्यमा पुन: निर्वाचित गराउनुभयो र अहिले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रूपमा जनताको सेवामा समर्पित छु ।’
२०७२ को भूकम्प होस् वा कोभिडको कठिन घडी उनले सदैव आफ्नो व्यावसायिक आम्दानी र राजनीतिक जीवन दुवैलाई समाज र मानवताको सेवामा अर्पण गर्दै आएका थिए । उनी प्रश्न गर्दै भन्छन्, ‘देशमै बसेर व्यवसाय गर्नु, युवालाई रोजगारी सिर्जना गर्नु, समाजसेवामा लगाव देखाउनु, के मेरो ठूलो अपराध हो ?’
साथै उनले सानै उमेरदेखि व्यवसायमा लागेर आफ्नै परिश्रमबाट सम्पत्ति आर्जन गरेको आफ्नो भाइ ध्रुव थापाको घरमासमेत आगजनी गरिएकोमा दु:ख व्यक्त गरे । ‘सोही दिन मेरो भाइ ध्रुव थापाको घरलाई समेत जलाइयो । सानो उमेरदेखि आफ्नै परिश्रमले सम्पत्ति आर्जन गरेका उनको घर पनि खरानी बनाइयो । त्यसमाथि घरमै रोजगारीको क्रममा बसिरहेका एक बहिनी र लेकसाइडस्थित अंशुभरा स्क्वायरमा काम गर्ने अर्की बहिनीलाई जिउँदै जलाइयो । निर्दोष आत्माहरूलाई यति अमानवीय कृत्यले मार्दा मेरो हृदय टुट्छ—तिनीहरूको के दोष थियो ? के मैले राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?’
जेनजीको नाममा भएको भयानक मानवीय क्षति र भौतिक संरचनाको विनाशले भर्खरै बामे सर्दै गरेको देशको अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको उनको निष्कर्ष छ । उनले अझै आफूमा पूर्ण आत्मबल रहेको विश्वास व्यक्त गर्दै भने, ‘भौतिक सम्पत्तिहरू जलेर नष्ट भए, संरचना खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन । मेरो सबैभन्दा ठुलो सम्पत्ति मेरो आत्मबल, ईमान र निष्ठा हो, जसलाई कुनै आगोले जलाउन र नष्ट गर्न सक्दैन ।’
उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बिन्दु कुमारको भनाइ जस्ताको त्यस्तै–
जीवनभर पसिना बगाएर, दिनरात नभनी संघर्ष गर्दै, आफ्नै परिवारको सुख–दु:ख बिर्सेर व्यवसायमा खट्दा मेरो एउटै सपना थियो—यसको फलले मेरो परिवार मात्र होइन, सयौँ युवाको भविष्य उज्यालो होस् । उनीहरूका घरपरिवारमा रोजगारीको ज्योति जलोस् । त्यो पूरा गर्न पाउँदा मलाई अझै मिहिनेत, निष्ठावान हुन र समाजसेवामा लाग्न प्रेरणा मिलेको थियो । तर आज, दशकौंको घाम–पानी, आँसु र मिहिनेतले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिँदा हृदय भक्कानिन्छ । तर, त्यसैमा अल्झिने छुट मलाई छैन ।
भदौ २३ र २४ गतेको दिन मेरो जीवनमा कहिल्यै नबिर्सने घाउ बनेर बस्यो । जुन दिन पछिल्लो पुस्ता जेनेरेसन जेड (जेनजी)ले गरेको आन्दोलनले नेपालको इतिहासमै उज्यालो दिन बन्ने छ भन्ने मैले कल्पना गरेको थिएँ । पारदर्शिताको पक्षमा, असमानता, भ्रस्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विपक्षमा जेनजीले गरेको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याउने आशा थियो । त्यसैक्रममा भदौ २३ गतेको आन्दोलनमा कालिला नानीबाबुहरुसहित १९ जनाले ज्यान गुमाउँदा अन्त्यन्त पीडावोध महसुस गरायो । जुन हिसाबले मानवीय क्षति भयो, मन विक्षिप्त भयो । अहिले त्यो संख्या बढेर ५० जना नाघिसकेको छ । म ती सम्पूर्ण मृत आत्महरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु । प्रहरीले बल प्रयोग गर्दा सयौंको संख्यामा घाइते भएका छन्, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्यो घटनाले मेरो पनि जेनजी पुस्ताको मागप्रति नैतिक समर्थन थियो ।
तर, भोलिपल्टको आन्दोलनमा जसरी घुसपैठ भयो, अराजक समूहले ध्वंस मच्चायो, त्यसले देशमा ठूलो आर्थिक तथा ऐतिहासिक अभिलेख, दस्तावेज नष्टमात्रै गरेन, ममाथि ठूलो अपमान र दुश्मनी साँधियो । आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरे र त्यसैको बहानामा मेरो घर, मेरो पसिना र मेरो सपना नियोजित रूपमा लुटपाट, तोडफोड र आगोले खरानी पारिदिए ।
मेरो घर, व्यावसायिक प्रतिष्ठानहरुमा लुटपाट, तोडफोड गरियो र आगो लगाइयो । दशकौँको मिहिनेतले, आफ्ना आँसु र पसिनाले जोडेको श्रम–सम्पत्ति एकै झड्कामा धुलोमा मिलेको देख्दा, लाग्छ—आफ्नै हातले माया गरेर हुर्काएको बिरुवालाई कसैले निर्ममतापूर्वक उखेलेर जलाइदिएको हो । म सधैं इमान र पारदर्शितामा अडिएको मानिस हुँ । अरूको मेहनतको मूल्य बुझ्ने, आफ्नो पेट काटेर पनि श्रमलाई सम्मान गर्ने सोचमै जीवन बिताएँ । तर आज, यही इमानदारी र मिहिनेतको प्रतिफल खरानी बनेको छ । यो पीडा शब्दमा पोख्न कठिन छ । घरमा ९३ वर्षकी बुढी फूपू हुनुहुन्छ, मेरा परिवार छन् । यस सबैकुरा हुँदा पनि अनुहारमा आक्रोशभन्दा बढी वेदना देख्छु । परिवारको आँसु हेर्दा मन भक्कानिन्छ ।
राष्ट्रबैंकको जागिरले सुरु भएको मेरो यात्राले २०६० सालमा अवकाशपछि नयाँ मोड लियो । पाएको उपदान र पैत्रिक सम्पत्तिलाई आधार बनाएर मोटरसाइकल वर्कसपको सानो कोठाबाट सुरु भएको मेरो व्यवसाय तीन दशकमा रि–कन्डिसन, अटोमोबाइल, वित्तीय संस्था, घरजग्गा आवास, आतिथ्य र पर्यटनसम्म विस्तार हुँदै आयो । यस यात्रामा अनेकौँ कठिनाइ थिए । ऋणका लागि बैंकको ढोका ढकढक्याएको दिन, घाटा सहेर पनि मजदुरको तलब नरोकिन दिने संघर्ष, निराशाले ढाकेको लामो रातहरू ताजै छन् । तर यी सबै संघर्षलाई जितेर हजारौँ युवालाई रोजगारी दिने अवसर पाएँ ।
आज मेरो इमान र श्रमलाई कलंकित गर्दै, भ्रष्टाचारको निराधार आरोप लगाइयो र मेरो सम्पत्ति खरानी बनाइयो । परिवारका सदस्यहरूको मनमा परेको चोट म शब्दमा बयान गर्न सक्दिन । जसले जीवनभर इमानदारीलाई धर्म ठानेर पसिना बगायो, उसलाई दोषी मान्नु योभन्दा ठूलो अन्याय के होला ?
मैले राजनीति व्यक्तिगत स्वार्थका लागि रोजेको होइन । बरु राजनीति भनेको जनताको लागि, युवाको भविष्यका लागि, जनजीविकासँग जोडिनुपर्ने बाटो हो भन्ने विश्वासले नै व्यवसायबाट राजनीतिमा प्रवेश गरेको हुँ । राजनीतिले मलाई पद वा प्रतिष्ठा होइन, जनताको पीडा कम गर्ने बाटो देखायो । यही सोचले गर्दा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यको रूपमा निर्वाचित भएँ । जनताले दिएको विश्वासको कदर गर्दै २०७८ मा कानुन मन्त्रीको रूपमा सेवा गर्ने अवसर पाएँ । फेरि २०७९ सालमा पनि जनताले मत दिएर प्रदेश सभा सदस्यमा पुन: निर्वाचित गराउनुभयो र अहिले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रूपमा जनताको सेवामा समर्पित छु ।
म सांसद र मन्त्री भएर पाउने सुविधा, पारिश्रमिकलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्नुपर्ने कुनै आवश्यकता थिएन । बरु त्यसमा व्यक्तिगत रकम थपेर विपदमा परेकाहरू, असहाय, बिरामी, बेसहारा परिवारका लागि खर्च गर्दै आएको छु । कास्की क्षेत्र नं. २(२) का हजारौँ मतदाताले दिएको समर्थन र विश्वास मेरो लागि जीवनकै ठूलो सम्पत्ति हो । तपाईंहरूको माया र विश्वासले नै मलाई जनताको सेवामा निरन्तर खटिरहन प्रेरणा दिएको हो ।
२०७२ को भूकम्प होस् वा कोभिडको कठिन घडी । मैले सदैव आफ्नो व्यावसायिक आम्दानी र राजनीतिक जीवन दुवैलाई समाज र मानवताको सेवामा अर्पण गरेको छु । यो तथ्य हरेक वर्ष पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आएको कुरा पनि तपाईं सबैले देख्नुभएको छ । आज प्रश्न उठ्छ—देशमै बसेर व्यवसाय गर्नु, युवालाई रोजगारी सिर्जना गर्नु, समाजसेवामा लगाव देखाउनु, के मेरो ठूलो अपराध हो ?
सोही दिन मेरो भाइ ध्रुव थापाको घरलाई समेत जलाइयो । सानो उमेरदेखि आफ्नै परिश्रमले सम्पत्ति आर्जन गरेका उनको घर पनि खरानी बनाइयो । त्यसमाथि घरमै रोजगारीको क्रममा बसिरहेका एक बहिनी र लेकसाइडस्थित अंशुभरा स्क्वायरमा काम गर्ने अर्को बहिनीलाई जिउँदै जलाइयो । निर्दोष आत्माहरूलाई यति अमानवीय कृत्यले मार्दा मेरो हृदय टुट्छ—तिनीहरूको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?
मैले जीवनभर सुशासन र पारदर्शितालाई धर्म ठानेर काम गरेको छु । एक पैसा भ्रष्टाचार गरेको छैन, कुनै प्रलोभनमा परेको छैन । यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने, म जस्तोसुकै कठोर सजाय भोग्न तयार छु, तर निर्दोष हुँदा पनि यसरी अपमानित हुनु र सम्पूर्ण उपलब्धि खरानी पारिनु अमानवीय मात्र होइन, घोर अपमान हो, अन्याय हो ।
जेनजीको नाममा नियोजित रूपमा ममाथि गरिएको यो विनाश कुनै आन्दोलन होइन, अपराध हो । मेरोमात्र होइन, भर्खरै बामे सर्दै गरेको हाम्रो देशको अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको छ । सत्य–तथ्य छानबिन भई दोषीमाथि कठोर कारबाही होस् भन्ने मेरो जोडदार माग छ ।
यही नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । यस पीडादायी क्षणमा मलाई सहानुभूति, सद्भाव र हौसला दिनुभएका सम्पूर्ण शुभचिन्तक, मतदाता र जनताप्रति म हृदयदेखि नमन गर्दछु । तपाईंहरूको माया, समर्थन र विश्वासले मलाई अझ दृढ, अझ सशक्त बनाएर अघि बढ्ने साहस दिएको छ ।
भौतिक सम्पत्तिहरू जलेर नष्ट भए, संरचना खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन । मेरो सबैभन्दा ठुलो सम्पत्ति मेरो आत्मबल, ईमान र निष्ठा हो, जसलाई कुनै आगोले जलाउन र नष्ट गर्न सक्दैन । यस पीडादायी घडीमा माया, सहानुभूति र हौसला प्रकट गर्नुभएका सम्पूर्ण शुभचिन्तक, साथीभाइ र नागरिकहरूलाई हृदयदेखि नमन गर्दछु । विषेशगरि मेरो निर्वाचन क्षेत्रका सम्पूर्ण जनताहरूको हरेक दुख–सुखमा साथ र सहयोग गर्दै अएको छु र यो भन्दा पनि कठिन परिस्थितिमा पनि गरिरहने पनि छु, तपाईंहरू सबैको सद्भाव र साथले मलाई यो खरानीभित्रै नयाँ आशाको बीउ रोपेर फेरि उठ्ने दृढसंकल्प दिएको छ ।
FACEBOOK COMMENTS