नेपाली कांग्रेसबाट कास्कीको निर्वाचन क्षेत्र नं. २ (ख) बाट गण्डकी प्रदेश समाभा निर्वाचित पोखराका विन्दु कुमार थापा एक सफल राजनीतिज्ञ मात्र नभइ सफल व्यवसायी र समाजसेवी समेत हुन् । सामान्य परिवारमा जन्मिएका उनी जीवनको सुरूवाती चरणमा नेपाल राष्ट्र बैंकको पोखरा शाखामा कर्मचारीका रुपमा काम गर्थे । जागिरले बल्लतल्ल पेट पाल्न पुगे पनि परिवारको इच्छा र आकांक्षा पूरा गर्न सक्दैनथ्यो । त्यसैले उनी २०६० सालमा अवकाश लिएर व्यवापार व्यवसायमा संलग्न हुन थाले । राष्ट्र बैंकको जागिर छोडेर किराना पसल खोलेका विन्दु कुमारले अटो र रियलस्टेटको व्यापार गरे । अटोबाट कमाइ गर्न नसकेका उनलाई घरजग्गा कारोबारले उभो लगायो र त्यसैको बलमा आज उनी सफल राजनीतिज्ञका रूपमा परिचित छन् ।
लामो समय जागिर र व्यापार व्यवसाय गरेका उनी २०७१ सालमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए । विभिन्न व्यावसायिक र सामाजिक संघ सङ्गठनहरूमा काम गरेका उनी एउटै क्षेत्रबाट दुई–दुई पटकसम्म प्रत्यक्ष निर्वाचन जितेर गण्डकी प्रदेश सरकारको कानुनमन्त्रीसम्म बनिसकेका छन् । यति छिट्टै राजनीतिमा उनले सफलता पाउनुको रहस्य के हो ? पोखराको समग्र विकास कसरी र कसले गर्ने ? जनताको अपेक्षा अनुसार प्रदेश सरकारले किन काम गर्न सकिरहेको छैन र सहज वातावरण निर्माण गर्न के गर्नुपर्छलगायत विषयमा केन्द्रित रहेर कर्पोरेट खबरका साइराम उपरकोटीले विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ, सो कुराकानीको सम्पादित अंश–
राम्रो व्यावसायिक छवि निर्माण गर्नुभएको तपाइँ अहिले सफल राजनीतिज्ञ र मन्त्री पनि बनिसक्नुभएको छ । व्यवसाय छोडेर राजनीति गर्दाको अनुभव सुनौँ न ?
म पहिला साधारण कर्मचारी थिएँ । १८ वर्ष नेपाल राष्ट्र बैंक पोखरा शाखामा काम गरेँ र २०६० सालदेखि त्यहाँबाट अवकाश लिएँ । अहिले राष्ट्र बैंकको पेन्सन सुविधा पनि मैले लिइरहेको छु । अन्य कार्यालयको भन्दा तलब राम्रो थियो । तर, पेट पाल्न मात्र ठिक हुन्थ्यो । बालबच्चालाई राम्रो स्कुलमा पढाउन सक्ने अवस्था थिएन । सरकारी स्कुलको अवस्था दयनीय थियो । यसले गर्दा बच्चा पढाउन भए पनि व्यवसाय सुरू गर्नुपर्ने अवस्था सृजना भयो । मेरो परिवार कृषक नै हुनुहुन्थ्यो । त्यसले गर्दा व्यवसाय सुरू गर्न मलाई कठिनाइ पनि भयो ।
मैले पहिलोपटक किराना पसल राखेर व्यवसाय सुरू गरेँ । यसमा धेरै उधारो गयो । धेरैले पैसा दिएनन् । मैले त्यस बेला ऋण गरेर लगानी गरेँ तर, सबै डुब्यो । त्यसबेला मोटरसाइकल किनबेचको चहलपहल थियो । म पनि त्यसमै लागेँ र मोटरसाइकल र गाडीहरू बेच्न थालेँ । यस व्यवसायबाट पनि केही पार लाग्ला जस्तो लागेन । किनभने त्यस बेलाको परिस्थितिमा राष्ट्र बैंको पोलिसी अनुसार काम गर्न सक्ने स्थिति थिएन । साथीहरूसँग मिलेर घर जग्गाको कारोबार गरेँ । यो कामबाट आर्थिक उन्नती हुन थाल्यो र पहिला लागेको ऋण तिर्न सक्ने अवस्था बन्यो । केही आर्थिक हैँसियत बढाउन पनि मद्दत मिल्यो ।
आत्मनिर्भर भएर अथवा आर्थिक हिसाबले पनि सक्षम भएर राजनीतिमा प्रवेश गर्दा धेरै नै सहज हुने मैले अनुभूति गरेँ । मेरो बुबा–बाजे नै नेपाली कांग्रेसको सुभेच्छुक शुभचिन्तक हुनुहुन्थ्यो । यसैले म नेपाली कांग्रेससँग आवद्ध संस्था कर्मचारी वित्तीय संघबाट राजनीतिमा लागेँ । म नेपाल उद्योग वाणिज्य संघ पोखरामा पनि १२ वर्ष काम गरेँ । त्यो बीचमा २०७१ सालदेखि २०७३ सालसम्म अध्यक्ष भएँ । त्यसमा पनि प्यानलको उम्मेदवार हुन्थ्यो । त्यसमा म नेपाली कांग्रेसको प्यानलबाट सदस्य, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष बनेको थिएँ । २०७३ सालमा नेपाल उद्योग वाणिज्य संघ पोखराबाट अध्यक्ष भएर बाहिरिएपछि नेपाली कांग्रेसका अग्रजहरूले यो मान्छेले काम गर्नसक्छ भनेर २०७४ सालमा कास्की क्षेत्र नम्बर २ को (ख) बाट टिकट दिनुभयो । त्यहाँबाट मैले अत्यधिक मतका साथ निर्वाचन जित्न सफल पनि भएँ । अहिले २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचन जितेर सांसद बनेको हुँ ।
काम आफैंमा सजिलो वा अफ्ठेरो भन्ने हुँदैन । यद्यपि, तपाइँलाई राजनीति र व्यवसायमा कुन सजिलो लागिरहेको छ ?
मलाई राजनीति गर्दै भत्ताबाट घर चलाउनुपर्ने अवस्था हुन्थ्यो भने गाह्रो पनि पर्ने थियोहोला । तर, मलाई त्यति गाह्रो परेन किनभने म व्यावसायिक फिल्डबाट आएको हुँ । त्यसैले मलाई राजनीति गर्न सहज भएको छ । तलब भत्ता पनि सामाजिक कार्यमा नै खर्च गर्ने गरेको छु । हाम्रा दुईवटा छोरा छन् । उनीहरू र श्रीमती मिलेर व्यवसाय गरिरहेका छन् । म आनन्द र खुसीका साथ राजनीति गरिरहेको छु । म राजनीतिमा आउनुअघि विभिन्न संघसंस्था जस्तो: फेवा फाइनान्स, गण्डकी विकास बैंक, विश्व विकास बैंक, पोखरा ट्रेड मल, पश्चिमाञ्चल डिलर एशोसिएसन, पोखरा उद्योग वाणिज्य संघ र लायन्स क्लब जस्ता संघसंस्थामा रहेर काम गरेको छु । मैले व्यवसायबाट कमाएकोे १० प्रतिशत रकम र राजनीतिबाट आएको तलब पूरै सामाजिक कार्यमा खर्च गर्ने गरेको छु । त्यसैले मलाई राजनीति गर्न सहज नै भएको छ ।
तपाईं एउटै क्षेत्रबाट दुई–दुई पटक विजयी बनिसक्नुभयो । राजनीतिमा सफलता पाउन के गर्नुपर्छ ?
मलाई के लाग्छ भने हरेक क्षेत्रमा इमान्दारितको खाँचो छ । चुनाव जित्न इमान्दारिता र क्षमता पनि आवश्यक हुन्छ । टिकट मात्र ल्याउने र चुनाव हार्ने हुँदा टिकट खेर जाने अवस्था हुन्छ । त्यसमाथि कास्की नेकपा एमालेको पकड क्षेत्र हो । त्यसैले पहिलो पटक नै चुनावमा होमिदा अलि असहज त हुने नै भयो । तर, यस क्षेत्रमा पहिलो पटक नै चुुनाव जितिरहँदा मैले के बुझेको छु भने जनताले परिवर्तन चाहेका छन् र यो मान्छेसँग लोभलालच छैन, यसले काम गर्न सक्छ भन्ने सोच्नुभएको छ । त्यसैले मलाई निर्वाचित गराउनुभएको हो भन्ने मेरो बुझाई छ । २०७४ सालमा संविधान सभाको सदस्य भइसक्नुभएका उम्मेदवारलाई हराउन सफल भएँ । जनताको अपार मायाले गर्दा नै उहाँ जस्तो उम्मेदवारलाई हराउन सफल भएको हुँ । जनताले भोट नदिनुभएको भए यहाँ मैले सफलता पाउन सम्भव थिएन । त्यसैले म सधैँ जनतालाई नै केन्द्रमा राखेर काम गर्ने प्रण दोहोर्याउन चाहान्छु ।
व्यवसाय र राजनीति दुवैमा सफल देखिनुभएको छ । राजनीतिमा लागेर अहिलेसम्म जनताका लागि के–के गर्नुभयो ?
प्रदेश सरकार नै संघीयताको नयाँ आयाम हो । यसले विकास निर्माण र समृद्धि हासिल गर्नका लागि काम गर्नुपर्ने हुन्छ । म कानुनमन्त्री हुँदा २०७४ देखि २०७९ सम्म ७४ वटा कानुन निर्माण गरिएको थियो । पहिलो पाँच वर्ष कानुन निर्माणमा खर्च गरेको थिएँ । अहिलेको कार्यकाल भर्खरै एक वर्ष पुग्दै छ । प्रदेश सरकार पनि विस्तारै बामे सर्दैछ र एउटा जग राख्ने काम भएको छ । यो वर्ष पनि चार वटा ऐन कानुन निर्माण गरिसकेका छौँ । प्रदेश सरकार पूरा हुनका लागि प्रहरी प्रशासन, कर्मचारी आफ्नो हुनुपर्छ । बजेटको कुरामा पनि संघले प्रदेशलाई खुला दिलले सहयोग गरेको छैन । संघ सरकार प्रदेश सरकारको पक्षमा उदार भए सफल हुन सक्छ । जनताले चाहेको सुशासन र सर्भिस डेलिभरी हो, यसका लागि गण्डकी प्रदेश सक्षम छ । यसकै लागि हामीले पहल गरिरहेका छौँ ।
सबै तहका सरकारको एउटै उद्देश्य जनतालाई सुविधा दिनु हो, तर सरकार–सरकारबीचको टकराव पो बढ्दै गएको देखिन्छ । यसबाट जनताले के बुझ्ने ?
अहिले पनि केन्द्रीकृत मानसिकता जीवीत नै छ । सकेसम्म केन्द्र सरकारले प्रदेश सरकारलाई धेरै अधिकार दिन नपाए हुन्थ्यो, बजेटमा सहयोग पनि कम गर्न पाए हुन्थ्यो भन्ने भावना राखेको देखिन्छ । धेरै ऐन कानुन नियमावलीहरू संघ सरकारले नबनाएकाले प्रदेश सरकारले खुलेर काम गर्न पाएको छैन । कतिपय अधिकारहरू प्रदेशलाई एकल अधिकार दिएको छ भने कतिपय कुरामा प्रदेशको साझा अधिकार छ । कुनै स्थानीय र प्रदेशको साझा अधिकार छ भने कतिपय संघ र प्रदेशको साझा अधिकार रहेको छ । अब यसलाई कार्यान्वयन गर्नका लागि संघले धेरै ऐन कानुन नियमावली बनाइदिनुपर्ने हुन्छ । प्रदेश सरकार सफल हुनका लागि बजेटमा समेत उदार हुनुपर्ने आवश्यकता मैले देखेको छु । बाहिरतिर संघ सरकाले जति पनि राजस्व उठाउँछ त्यसको ७० प्रतिशत प्रदेशलाई दिन्छ, तर यहाँ भने संघले ७० राखेर प्रदेशलाई ३० प्रतिशत मात्र प्रदेशलाई दिने गरेको छ । यसले गर्दा (बजेटले गर्दा) प्रदेशलाई चलायमान बनाउन गाह्रो भएको हो । त्यसैको प्रतिविम्बलाई टसलको रूपमा पनि लिने गरिएको छ ।
पर्यटकीय राजधानी समेत रहेको पोखरामा रहेर राजनीतिक नेतृत्व गरिरहँदा यहाँको पर्यटन प्रवर्द्धनका लागि तपाईंबाट के–के पहल भयो ?
गण्डकी प्रदेश पर्यटन, कृषि र जलविद्युतको प्रवल सम्भावना रहेको क्षेत्र हो । तर ठूला–ठूला उद्योगको सम्भावना भने छैन, तर मझौला तथा साना उद्योगको भने सम्भावन राम्रो रहेको क्षेत्र हो पोखरा । यहाँ यिनै साना–साना उद्योगहरूले गर्दा नै पर्यटकहरू आउने गर्नुभएको छ । अहिले पर्यटक आउने सिजन पनि हो । पोखरामा चहलपहल राम्रै छ । तर, पोखरा आउने सडकको दुरावस्थाले गर्दा भने पर्यटकको कमी आएको छ । सबै पर्यटक हवाइ यात्रा गर्न सक्ने अवस्था छैनन् । हवाइ यात्रा गरे पनि एयरपोर्टबाट पोखरा आउनेसम्मको बाटो पनि राम्रो बन्न सकेको छैन । बुद्ध एयरले एकलौटी राज गरेको छ । केही महिनाअघि तारा एयरको जहाज दुर्घटना भएपछि झनै एकलौटी राज जस्तै भएको छ । यसले गर्दा अन्य ठाँउमा भएको घाटा पोखराबाट नै मेकअप गर्नुपर्छ भनेर बुद्ध एयरले भाडा एकदमै महङ्गो गराएको छ । पहिला एक हजार ८०० रूपैयाँ तिरेर यात्रा गर्ने यात्रुले अहिले ६ हजार रूपैयाँ तिर्न परिरहेको छ । अब यही एउटा विकल्प छ, त्यही पनि भाडा महङ्गो छ यसले गर्दा पर्यटकको कमी आएको छ । बढाउनका लागि हामी सबै मिलेर पहल गरिरहेका छौँ ।
तपाईं त सत्तामा समेत पुगिसक्नुभएको व्यक्ति । अझै यो भएन, त्यो भएन भनेर जनतालेझैं गुनासो पो गरिरहनुभएको छ । खास काम गर्नेचाहिँ कसले हो र ?
केन्द्र सरकारले प्रदेश सरकालाई धेरै अधिकार नदिएको कुरा मैले अगाडि पनि उल्लेख गरिसकेँ । अधिकार नभएपछि सोचेजस्तो काम गर्न सक्ने अवस्था रहेन । अहिलेको अवस्थामा धेरैजसो कामहरू केन्द्र सरकारले नै गर्ने हो, हामीले केही गर्न सक्दैनौँ । उदारण हेर्नुहुन्छ भने, राष्ट्र बैंकको कुरामा राष्ट्र बैंक र अर्थमन्त्रालयको समन्वय नै छैन । अर्थमन्त्रीले भनेको कुरा गभर्नरले नसुुन्ने गरेको देखिन्छ । तर, राष्ट्र बैंकलाई नियमन गर्ने त अर्थमन्त्रालयले नै हो, तै पनि गभर्नरले सुन्दैनन् । यसले गर्दा बैंकको लोन लिन नसकेर व्यवसायीहरू विदेसिन बाध्य भएका छन् । त्यहाँ अधिकार हुँदा त त्यस्तो छ भने यहाँ त अधिकार नै छैन । अनि हामीले भनेको कसले टेर्ने ? हामी प्रदेश सरकारमा भएर पनि हामीले भनेको कसैले मान्ने अवस्था र नमान्दा केही गर्ने अधिकार छैन भने कसरी काम गर्न किन्छ ?
सडकको कुरा गर्दा, सरकारले सडक बनाउन ४–५ वटा ठेकेदारलाई ठेक्का दिएको छ । यसले गर्दा पनि सडकको काम ढिलो भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ, तर अन्तर्राष्ट्रिय हवाइ उडान भएको छैन । एयरपोर्टबाट पोखरा आउनेसम्मको बाटो पनि राम्रो बन्न सकेको छैन । हामीले पनि सडक विभाग अन्तर्गत गएर नै सामान्य टालटुल मात्र गर्न सकेका छौँ । जनताहरूको इच्छा आकांक्षा धेरै छ, तर सरकारसँग बजेट सीमित छ त्यसले गर्दा काम गर्न सकिएको छैन । बजेट धेरै बनाउन सकेको भए हामीले चुनावमा गरेको बाचा पूरा गर्न सक्नेथियौँ । सडकका लागि हामीले ठेकेदारसँग कुरा गरेका छौँ । तर, काम भने शून्य नै छ ।
बन्द रहेका गोरखकाली टायर उद्योग सञ्चालनमा त तपाइँहरूको ध्यान पुगेन नै अझै यहाँ ठूला उद्योग सञ्चालनको सम्भावना नै छैन भन्दै हुनुहुन्छ, तपाइँको यो स्टेटमेन्टबाट जनताले के बुझ्ने ?
तपाइँले प्रसङ्ग उठाउनुभएको गोरखकाली टायर उद्योगको सम्बन्धमा हामीले पहिलादेखि नै धेरै प्रयास गरेका हौँ । त्यो करिब ७०० रोपनी जग्गा छ जस्तो लाग्छ । सञ्चालन गर्ने पहल गर्न गोरखाका प्रतिनिधिहरूसँग छलफल गरेका हौँ, तर केन्द्रकै मुख ताक्नुपर्ने अवस्थाले सञ्चालनमा ल्याउन सकेनौँ । यो काम प्रदेशले गर्न नसकिने रहेछ । तर, हामीले सञ्चालनमा ल्याउन प्रयास गरिरहेका छौँ ।
व्यावसायिक संघसङ्गठनमा बसेर मन्त्रीलाई झक्झकाउन सजिलो कि मन्त्री भएर काम गर्न ?
समस्याहरू जहाँ पनि छन् । मन्त्री भएपछि सरकारमा गइसकेपछिको समस्याहरू छुट्टै छ । २०औँ वर्ष पार गरिसकेको संघीयता भएको भए केही हुन्थ्यो तर अहिले बाल्यवस्थामा छ । यसलाई हुर्काउनपर्ने छ, गाह्रो छ । व्यावसायिक फिल्डमा बसेर सरकारलाई गाली गर्ने सजिलो हुन्थ्यो । अब सरकारमा आएपछिका समस्या छुट्टै हुँदो रहेछ । जीवनमा संघर्ष गर्नुपर्छ संघर्ष गरेर नै जाने छु ।
राजनीति जटिल र विकृत अवस्थाबाट अघि बढिरहेको हामी पाउँछौँ । तपाइँले आफ्नो आगामी राजनीतिक यात्रा कसरी अगाडि बढाउने सोच बनाउनुभएको छ ?
अहिले पुरान पार्टीप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक धारणहरू आइरहेको देखिन्छन् । नयाँ पार्टीहरूले समाजिक सञ्जालमार्फत गलत खालको पचार–प्रसार गरेको हुनाले पुराना पार्टीलाई भविष्यमा अगाडि बढ्न असजिलो छ । २०८४ सालमा फेरि चुनाव हुँदैछ । पुरानो सोच लिएर हुँदैन अब युवालाई भूमिकामा राखेर अघि बढ्नुपर्छ । जति पछि भयो त्यति मेहनत गर्नुपर्छ । जनताले खोजेको भनेको सुशासन, रोजगारी र समृद्धि हो । यो पुर्याउन राजनीतिले सक्नुपर्छ । अनि मात्र पार्टी बलियो हुन्छ र देश बलियो बन्छ । विदेशमा पठाउने तर त्यहाँको शीप, रोजगारी र पैसा लिएर यहाँ नै फर्किने वातावरण बनाउनुपर्छ ।
मलाई त राजनीति गर्नुभन्दा पनि यो ठूलो प्लेटफर्ममा बसेर समाज सेवा गर्न आनन्द आउँछ, वास्तवमा राजनीति पनि त्यही हो भन्ने मैले बुझेको छु । राजनीति एउटा अनुभव हो, अब म १० वर्ष राजनीति गर्छु । त्यसपछि अब पार्टीले विश्वास गरेर तिमी नै अगाडि बढ्नुपर्छ । तिम्रो नै समभावना छ भन्ने कुराहरू आए भने केही वर्ष अझै राजनीति गर्नेछु । राजनीति भन्दा पनि समाजसेवा गर्ने हो । राजनीति गर्नैपर्छ भन्ने छैन जसरी पनि जनताको काम गर्ने हो, त्यो म गरिरहनेछु ।
अन्त्यमा थप केही भन्न चाहानुहुन्छ कि ?
मलाई दुई पटक जिताउनुहुने कास्की क्षेत्र नम्बर २ को (ख) का जनतालाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु । म भ्रष्टाचार गर्ने पनि छैन र गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गर्ने छु । मलाई भोट दिने जनताको शीर कहिल्यै निहुरिन दिने छैन । म जनताको सेवा गर्ने आएको हुँ, जनताको सेवाकै लागि समर्पित हुनेछु ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS