काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका छन् ।
बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरेका हुन् । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे ।
विसं २०१२ वैशाख १ गते जन्मेका चौधरी काठमाडौँ महानगरपालिका-१४ का बासिन्दा हुन् । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहेका उनी विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा छन् । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए । दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बने । नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी रहेको भए पनि उनले चुनाव लडेनन् ।
विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेको र समानुपातिकतर्फको सांसद बने । यो अवधिमा उनले सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे । गतवर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए ।
‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढे । चुनावी प्रचार–प्रसारका क्रममा उनले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिए । त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उहाँले बताउँदै आएका छन् ।
संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका रहँदै आएको छ । उनी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बनेका थिए ।
त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उनी रहेका । सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गरेका थियो ।
व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बने । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुन् । फोब्र्सको अर्बपति सूचीमा अहिले उनी एक हजार नौ सय २९औँ स्थानमा छन् ।
विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप ९सीजी० को नेतृत्व चौधरीले गरिरहेका छन् । सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन् । खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ ।
उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय छन् । परोपकारी कार्यका लागि चौधरी फाउन्डेशन सञ्चालनमा छ । ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित गरेको थियो । उनी शास्वत धाम नवलपरासीका संस्थापक पनि छन् ।
चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् । उनका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन् । चौधरी गल्फ र स्क्वास खेलका सौखिन छन् ।
FACEBOOK COMMENTS