काठमाडौँ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले सम्पत्ति आर्जनमा छलाङ मारेका छन्।
चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो।
सन् २०२२ मा १ अर्ब ५० करोड डलर रहेको उनको सम्पत्ति यस वर्ष १ अर्ब ८० करोड डलर पुगेको फोर्ब्सले धनाढ्यको सूची सार्वजनिक गर्दै जानकारी दिएको छ।
सम्पत्तिको स्रोतमा बिबिध क्षेत्रहरुको आर्जनलाई उल्लेख गरेका उनी वाईवाई चाउचाउको उत्पादक कम्पनीका मालिकका रुपमा पनि विश्वभर चिनिएका छन्।
उनको कम्पनी सिजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी बिस्तार गरेको छ।
सम्पत्ति बढेसँगै फोर्ब्सको डलर अर्बपतिको सूचीमा उनले स्थानमा पनि फड्को मारेका छन्। उनी विश्वका धनाढ्यहरुको सूचीमा १६ सय ४७ औं अर्बपतिका रुपमा दरिएका छन्।
यसअघि गत वर्षको अप्रिल महिनासम्म उनको श्रेणी १९ सय ६५ थियो। ६७ वर्षका चौधरी सन् २०१३ मा उनी पहिलोपटक डलर अर्बपतिका रुपमा फोर्ब्सको डलर अर्बपतिको सूचीमा प्रवेश गरेका थिए।
फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो। सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो।
त्यसपछि २०१५ मा १.३ अर्ब डलर, सन् २०१६ मा १.१ अर्ब डलर, २०१७ मा १.३ अर्ब डलर, २०१८ मा १.५ अर्ब डलर, २०१९ मा १.७ अर्ब डलर, २०२० मा १.४ अर्ब डलर, २०२१ मा १.४ अर्ब डलर, २०२२ मा १.५ अर्ब डलर रहेकोमा सन् २०२३ मा आइपुग्दा १.८ अर्ब डलर पुगेको हो।
को हुन् चौधरी?
चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन्। उनको नबिल बैंक र वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्समा ठूलो सेयर स्वामित्व छ।
वाइवाइ चाउचाउका भारत, सर्बिया र बंग्लादेशमा कारखाना रहेको छ। इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ। जसले धेरै प्रकारका ससेज ल्याउने तयारी छ।
सीजीको होटल सम्पत्ति पनि छ। १४३ वटाको स्वामित्व रहेकोमा अन्य सम्पत्ति समेत व्यवस्थापन गरिरहेको छ। त्यसमा भारतको ताज होटल चेन समेत समावेश छ।
उनका छोराहरु निर्वाणले नेपालमा र राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप हाँकिरहेका छन्। निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक रहेका छन्।
FACEBOOK COMMENTS