काठमाडौं । इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ ।
इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराएका हुन् ।
“मिडियामा विपीन जीवित रहेको र हमासले उनलाई रिहा गर्न लागेको खबर आइरहेको छ । यस सम्बन्धमा बुझ्दा इजरायलको प्रधानमन्त्रीका सल्लाहकार गल हिर्शले विपीन जीवित भएको प्रमाण हालसम्म आफूहरूलाई प्राप्त नभएको बताएका छन्,” इजरायलका लागि नेपाली राजदूत पण्डितले भने ।
प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा विपीनलाई पनि बन्धक बनाएर लगेको थियो ।
गत साता इजरायल र हमासबीच युद्ध अन्त गर्न सहमति बनेपछि हमासले आफूसँग बाँकी रहेका ४६ जना बन्धकलाई रिहा गर्ने घोषणा गरेको छ ।
रिहा गर्न लागिएका ४६ जनामध्ये २० जनामात्र जीवित रहेको विश्वास गरिएको छ । विपीनसहित दुई जनाको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
FACEBOOK COMMENTS