काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले विपिन जोशीको मृत्युको पुष्टि भएकोप्रति स्तब्ध भएको बताउदै सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनेको बताएकी छन् ।
बुधबार प्रधानमन्त्री कार्कीले विपिनको दु:खद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले स्तब्ध भएको बताउदै अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका र उनको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुराले सबैलाई विपिन सदा कृतज्ञ बनाएको र उनको यो वीरतापूर्ण कार्य उनको जीवनको
सबैभन्दा ठूलो विरासत भएको बताएकी छन् । साथै उनले विपिनलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने समेत बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छन् ।
बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबिच नेपाली विद्यार्थी विपिन जोशीको दु:खद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले म स्तब्ध भएकी छु ।
यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।
विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो । उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।
सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ। उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।
उहाँ त अब हामीमाझ रहनुभएन । तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँ सदा कृतज्ञ बनाएको छ ।
उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ । विपिन जोशीको आत्माले शान्ति पाओस्। उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।
FACEBOOK COMMENTS