काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिए ।
आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए ।
उनले भने, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् । ”
मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिए ।
उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिए । “सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौं । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ”, उनले भने ।
मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का निमित्त उपकुलपति प्रा डा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिए ।
न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गरे ।
FACEBOOK COMMENTS