विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन ।
महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिएका हुन् ।
‘यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।’
‘मर्जर’मा गएमा सहकारी बलियो हुने भन्दै मेयर कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे ।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन ।
स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो ।
उपमेय कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखिन ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शीता र इमान्दारिता जरुरी रहेको औँल्याए ।
अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिएका थिए ।
उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो राखेका थिए ।
महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरूले जोड थियाे ।
FACEBOOK COMMENTS