काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ रोजेपछि विराटनगरले बलिङ गर्ने भएको हो।
प्लेअफ सम्भावना जिवित राख्न यी २ टोलीलाई जितको आवश्यक्ता छ। आजको खेलमा पोखराले हार भोगे प्लेअफ दौडबाट औपचारिक रुपमा बाहिरिनेछ।
विराटनगरले हार भोगे प्लेअफ यात्रा केही कमजोर हुनेछ।
एनपीएलमा पोखरा र विराटनगर दुबै टोली छैटौँ खेल खेल्दैछन्। २ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। समान खेलबाट १ खेलमा जित र ४ खेलमा हार भोगेको पोखरा २ अंकमा तालिकाको पुछारमा छ। पोखरा र विराटनगरको हेट टु हेडलाई हेर्ने हो भने दुबै टोलीले समान एक खेल जितेका छन्। पहिलो सिजन सुपर ओभरबाट पोखराले जित हात पारेको थियो।

दोस्रो सिजन भने विराटनगरले पोखरालाई ५३ रनले हराएको थियो। आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन्। एनपीएलमा लुम्बिनीले अहिलेसम्म कर्णालीलाई हराउन सकेको छैन।
