काठमाडौं । नेपालमा फेरि बर्डफ्लु भाइरसको संक्रमण देखापरेको छ । पछिल्लो पटक सुनसरीको कोशी गाउँपालिका-६ स्थित सप्तकोशी कृषि फार्ममा यसको संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
बर्डफ्लु पुष्टि भएसँगै मन्त्रालयले कृषि फार्मलाई केन्द्रविन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।
मन्त्रालयले फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।
‘चार किल्लाभित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहीबमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजीकरण तथा सहकार्यको लागि अनुरोध छ,’ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा भनिएको छ ।
नेपालमा पहिलो पटक २०६० सालमा झापामा बर्डफ्लु देखापरेको थियो । त्यसयता विभिन्न काठमाडौं, चितवन, मोरङ, मकवानपुर, रसुवालगायत जिल्लाका पोल्ट्री फार्महरूमा यसको संक्रमण देखापरेको र त्यसका कारण हजारौंको संख्यामा कुखुरा तथा अण्डा नष्ट गर्नुपरेको इतिहास छ । कृषि फार्महरूमा बर्डफ्लु फैलिँदा किसानले ठूलो क्षति व्यहोर्ने गरेका छन् ।
व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँसलगायतबाट मात्रै नभई रैथाने एवं बसाइँसराइ गर्ने चराहरूबाट पनि बर्डफ्लुको भाइरस सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
FACEBOOK COMMENTS