काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त महिनाका लागि तोकिएको १७ अर्ब ६४ करोड रुपैयाँको लक्ष्यभन्दा यो १५ करोड रुपैयाँ बढी हो।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार कार्यालयले भदौदेखि लगातार मासिक लक्ष्यभन्दा बढी राजस्व उठाउँदै आएको छ। भदौ र असोजपछि कात्तिकमा पनि लक्ष्य नाघेसँगै लगातार तीन महिना राजस्व संकलन लक्ष्यभन्दा माथि पुगेको हो।
कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न र फलामलगायत वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यसअघि असोजमा कार्यालयले २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको थियो।
कार्यालयले चालु आर्थिक वर्षका लागि निर्धारित वार्षिक राजस्व लक्ष्यको करिब ३० प्रतिशत संकलन गरिसकेको मैनालीले जानकारी दिए।
