पर्सा । बैंकको चर्को ब्याज र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को बिरोधमा वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
उनीहरुले सोमबार वीरगन्जमा बिरोध जुलुस निकालेर आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक शाखाको मूल गेटमा प्रदर्शन गरे । वीरगन्ज उद्योग वाणिज्य संघ र मधेस प्रदेश उद्योग वाणिज्य संघले संयूक्त रुपमा विरोध जुलुस निकालेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघको प्रांगढमा सुरु भएको उद्योगी व्यवसायीको बिरोध जुलुश वीरगन्ज परिक्रमा पछि राष्ट्र बैंक शाखा कार्यालयको मुल गेटमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले ब्याजदर ७ बाट १५ प्रतिशत पुर्याएर बैंकले निजी क्षेत्रको ढाड सेक्ने काम मात्र गरेको आरोप लगाए ।
सरकारको मौद्रिक नीतिले ५ देखि १० वर्षको अवधिमा चरणबद्ध रुपमा कार्यान्वयन गर्नुपर्ने विषयलाई एकै पटक लागू गरेर अन्याय गरेको बताए । देशव्यापी रुपमा प्रदर्शन चर्काउँदै जाने उनले चेतावनी दिए ।
मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुमार लाठले महँगी र बैंकको चर्को ब्याजदरले निजी क्षेत्रदेखि सर्वसाधारणसम्म प्रभावित भएको बताए । ‘उद्योग चलाउन ऋण नपाउने, कच्चा पदार्थ आयात गर्न डलर नपाइने अवस्था भएपछि उद्योगी व्यवसायी उद्योगमा ताल्चा लगाउने अवस्थामा आइपुगेका छन्’ उनले भने । आफूहरुले अर्थमन्त्री, गर्भनर, प्रधानमन्त्रीदेखि सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुलाई गुहार्दा पनि पीडा कसैले नबुझेकाले सडक संघर्ष बाहेक अन्य विकल्प नरहेको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व अध्यक्ष अशोक टेमानी, संघका बैंकिङ समितिका अध्यक्ष आशिष लाठ लगायतकाले सरकार र राष्ट्र बैंकको नीतिका कारण सडक संघर्ष गर्न बाध्य भएको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघले मंगलबार वीरगन्ज बजारका आदर्शनगर, माइस्थान लगायतका ठाउँहरुमा पसलहरुलाई झण्डा र कालोपट्टी वितरण गर्ने जनाएको छ । बुधबार राष्ट्र बैंक वीरगन्ज शाखा अगाडि १ घण्टा धर्ना र बिहीबार बिरोध र्याली निकाली नगर फरिक्रमा गर्ने कार्यत्रmम सार्वजनिक गरेको छ ।
FACEBOOK COMMENTS