काठमाडौं । लालझाडी गाउँपालिका–४ मा रुपैयाँ एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ ।
सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले जानकारी दिए । “तल्लो तलामा सुविधासम्पन्न बर्थिङ सेन्टर रहन्छ”, उनले भने, “दोस्रो तलामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।” चालु आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर निर्माणकार्य पूरा हुने उनको भनाइ छ । “निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायौँ, केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ, स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्रीको अभाव छ”, उनले भने , “सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुन्छ ।”
विगतमा बर्थिङ सेन्टर नहँुदा सुत्केरी हुने महिलाले पाँच किलोमिटर टाढाको देखतभुली स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो । “प्रसूति हुने महिलालाई स्वास्थ्यचौकी पुर्याउनै निकै समस्या थियो”, स्थानीय लक्ष्मण रानाले भने , “स्वास्थ्यचौकी नपुग्दै महिलाले बीच बाटोमै जोखिम मोल्दै सुत्केरी हुन्थे, गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि महिलाले बीच बाटोमै बच्चा पाउनुपर्ने बाध्यता हट्ने भएको छ ।” देखतभुली स्वास्थ्यचौकी पुग्नका लागि गाउँको बीचमा नदी तर्नुपर्ने बाध्यता रहेको छ । “वर्षात्का बेला नदीमा बाढी आएका बेला सुत्केरी हुने महिलालाई काँधमा बोकेर लैजानुपर्ने अवस्था थियो”, रामकुमारी रानाले भने , “बाढीका कारण नदी तर्न नसकेर सुत्केरी हुने महिलालाई घरमै फर्काएर ल्याउने गरिएको थियो, निकै जोखिम थियो, बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको छ ।”
बर्थिङ सेन्टर निर्माण भएपछि लालझाडी गाउँपालिका–४ का एक हजार घरघुरी र शुक्लाफाँटा नगरपालिका–१२ का चार सय घरघुरी लाभान्वित हुने भएका छन् । दुवै पालिकाका वडामा आदिवासी जनजाति थारू समुदायको बाहुल्यता रहेको छ ।
FACEBOOK COMMENTS