काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले आफ्नो उम्मेदवारी सहित प्यानल घोषणा गरेका छन्।
केही दिन अघि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उनले बुधबार समूह घोषणा गरेका हुन् ।
बुधबार होटल म्यारियटमा एक कार्यक्रम आयोजना गर्दै पाण्डेले संस्थाको कुल ४६७ मत मध्ये २५० भन्दा बढी आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् ।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले संस्थाको अध्यक्ष पदका लागि आधिकारिक रूपमा उम्मेदवारी घोषणा गर्न पाउँदा आफू उत्साहित रहेको बताएका छन्। आफूले इमानदारीपूर्वक इक्यान सदस्यहरूलाई मद्दत गर्न चाहेको र परामर्श व्यवसायको वृद्धि गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्। इक्यानले नेपालको शैक्षिक वातावरणलाई प्रभाव पार्न नेपाली विद्यार्थीहरूलाई उपयुक्त सल्लाह, दृढ सहयोग र शैक्षिक उन्नतिको लागि जीवन परिवर्तन गर्ने अवसरहरू प्रदान गरेर धेरै विद्यार्थीहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुँदा इक्यान सदस्यहरूका आधारभूत सिद्धान्तहरू कायम राख्न र यात्रामा नयाँ अध्याय सुरु गर्दा बलियो र दूरदर्शी नेतृत्वको आवश्यकता महसुस गरेर आफूले उम्मेदवारी घोषणा गरेको जनाएका छन्। पाण्डेले इक्यानलाई अझै शक्तिशाली र सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रको नेतृत्वकर्ताका रूपमा स्थापित गर्ने आफ्नो सपना रहेको भनाई राखेका छन्।
आफू इक्यान भित्र समावेशी, स्वतन्त्र सञ्चार, र समूह निर्णय गर्ने वातावरण स्थापना गर्न समर्पित भएको र प्रत्येक एक आवाजको महत्त्व बुझाउने इमान्दार प्रयासमा लागेको उनको भनाई छ। उनले प्रत्येक एक भोटले इक्यान कसरी विकास हुन्छ र आफूहरू कहाँ जान्छौँ भन्ने निर्णय गर्ने हुँदा सही निर्णय गर्न सुझाएका छन्। पाण्डेले सम्पूर्ण इक्यान सदस्यहरूलाई आफूलाई मतदान गर्न अपिल पनि गरेका छन्।

