गण्डकी । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन् ।
नेकपा एमाले कास्कीद्वारा पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए ।
मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उनले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पारे ।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उनले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गरे ।
सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताए ।
एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए । उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवा फैलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न आग्रह गरे ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताए ।
जनताको घरदैलोमा पार्टी पुर्याउने लक्ष्यका साथ तीनमहिने वडा केन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउँदै उनले यसका लागि सम्पूर्ण कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।
FACEBOOK COMMENTS