काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार गठन र मौद्रिक नीति जारी भएपछि पुँजीबजार सुधारोन्मुख हुँदै गएको बताएका छन् । उनले यसलाई नयाँ सरकारप्रति जनताको विश्वासका रुपमा आफूले लिएको बताए ।
‘चालु आर्थिक वर्ष २०८१-८२ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले अथतन्त्रसँग सम्बन्धित मौद्रिक क्षेत्रका समस्या समाधान गर्ने विश्वास छ’ उनले भने ‘नयाँ सरकार गठन भएपछि र मौद्रिक नीति जारी भएपछि पुँजीबजार सुधारोन्मुख हुँदै गएको र यसलाई नयाँ सरकारप्रति जनताको विश्वासका रुपमा आफूले लिएको छु ।’
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर स्थिर सरकार गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब निजी क्षेत्रले भरोसायोग्य अविभावक पाएको बताए । अर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहीनढङ्गले विश्लेषण गरेर त्यसको समाधान खोजिने पनि उनको भनाइ छ ।
“नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नका निम्ती अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती समस्यमा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो”, पौडेलले भने “शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै सम्बाहक पक्षलाई त्यहाँ रहेको समस्यामै प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्नेछ ।”
कतिपय आर्थिक सूचकहरु नकारात्मक रहेको उल्लेख गर्दै उनले समग्र मागमा न्यूनता आएको, राष्ट्रिय उत्पादन घटिरहेको र त्यसको प्रभाव रोजगारीमा परेको बताए । “राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र शिथिल नै छ”, उनले भने ।
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकार निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको र आवश्यक सुझावहरु लिएर समस्या समाधानका लागि प्रयास गरिरहेको पौडेलले जानकारी दिए ।
“निजी क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो । निजी क्षेत्रको मनाबल बढाउनु, उत्पादनका निमित्त उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय हो”, उनले भने ।
आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निजी क्षेत्रसँग नियमित संवादमा रहेको र निजी क्षेत्रसँग सुझाव पनि लिइरहेको बताए । “निजी क्षेत्रले राखेका अपेक्षाहरु सम्बोधन गर्न सम्भव छन् वा सम्भव छैनन् भन्ने कोणबाट पनि हामी हेरिरहेका छौं । क्रमशः समाधानका प्रयासहरु अगाडि बढेका छन्”, उनले भने ।
FACEBOOK COMMENTS