काठमाडाैँ । पूर्व एमाले नेता भिम रावल र नेपाल समाजवादी पार्टीका महासचिव घनश्याम भुसाललाई एमालेका उपमहासचिव विष्णु रिमालले कवितात्मक शैलीमा जवाफ फर्काएका छन् । पार्टी छोडेर अर्कै घर बनाएका भुसाल र रावललाई एकै कवितात्मक मार्फत अब पूरानो पार्टीको मतलब नराख्न र आफ्नो घर बनाएर देखाउन चुनौति दिएका छन् ।
नेकपा एसका महासचिव भुसालले शनिवार पत्रकार सम्मेलनमा एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । त्यसको जवाफमा रिमालले लामो कविता शैलीमा ह्याउ भए आफ्नै घर बनाएर देखाउन र नेकपा एसभित्रको विवाद समाधान गर्न सुझाव दिएका छन् । इतिहासदेखि नै आफूहरू पार्टी संगठन बनाउन लाग्दा भुसाल सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको बताएका छन् । त्यस्तै उनले रावललाई पनि कविता मार्फत चुनौति दिएका छन् । उनले भनेका छन्,‘ उनी पार्टी भित्र मौकाको खोजीमा रहे, अनवरत ‘किच–किच’ गरेर बसिरहे भन्दै रावललाई पनि जवाफ फर्काएका छन् ।
यस्तो छ घनश्याम भुसाललाई विष्णु रिमालको जवाफ
उनी पो निसासिए रे !
उनन्चालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,
पार्टी भित्र सधैँ उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसिरहे।
प्रत्येक चुनौती चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौँ,
उनले विभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे– अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
‘जोरीपारी’हरू–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सही—
असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैँ
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि?!
कतै औँला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ।’
अरे यार!
ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू
बज्न नदेऊ न !
ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरूले उनीहरूका घरमा,
जे गरुन्–बाल मतलब!
FACEBOOK COMMENTS