काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन् ।
कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा उनले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको उनकाे भनाइ थियाे ।
महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेतृत्व संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको दाबी गरे ।
पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताए ।
उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकाले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नुपर्ने भण्डारीले बताए ।
केन्द्रीय सदस्य ध्रुव वाग्ले, पार्टी सभापति जीतप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल लगायतले गत निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेसले विजय हासिल गरेकाले उक्त विजयलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
FACEBOOK COMMENTS