काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसभित्र महाधिवेशन गर्नैपर्ने बाध्यतामा पार्टी रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालबाट महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले उनीहरूको मागलाई सम्बोधन गर्नैपर्ने बताएका हुन् ।
नियमित महाधिवेशन आगामी वैशाखसम्म पनि गर्न सकिने तर बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाले पुसभित्रै गर्नुपर्ने तर्क उनको छ ।
“नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन । तर, विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ,“ उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखितरूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्दछ । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रस्ट ढंकले बुझ्न जरुरी छ,“ शर्माले भनेका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिलाई लिएर चर्को विवाद छ । संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छ । तर, संस्थापनभित्रै पनि यसमा एकमत हुन सकेको छैन । महामन्त्रीद्वय शर्मा र गगन थापासहित चुनाव अगाडि महाधिवेशन गर्नैपर्ने पक्षमा छन् ।

FACEBOOK COMMENTS