काठमाडौँ । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य कीर्तिमानी रुपमा बढेको छ ।
आइतबार अमेरिकी बजार मूल्यको हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मुल्य कीर्तिमानी उच्चतम बिन्दुमा पुगेको हो ।
आइतबार लगभग २.७ प्रतिशतले बढेर १ लाख २५ हजार २४५.५७ डलरमा पुगेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको मैत्रीपूर्ण नियमन र संस्थागत लगानीकर्ताहरूको बलियो मागले गर्दा अगस्टको मध्यमा बिटक्वाइनको मुल्य एक लाख २४ हजार ४८० सम्म पुगेको थियो ।
२००९ मा सातोशी नाकामोतोले बिटक्वाइनलाई सिर्जना गर्दा यसको मूल्य शून्यको नजिक थियो । बिटक्वाइनको पहिलो ठूलो मूल्य वृद्धि अक्टोबर २०१० मा भएको थियो ।
लामो समयसम्म लगभग ०.१० डलरमा स्थिर रहेपछि, बिटक्वाइनको मूल्य बढ्न थाल्यो । वर्षको अन्त्यसम्ममा, यो ०.३० डलर पुग्यो । २०१३ सम्ममा, यसको मूल्य १००० डलर नाघेको थियो ।
पछिल्लो समय राष्ट्रपति ट्रम्पले क्रिप्टो–मैत्री नीतिहरू लागू गरेका छन्, जस्तै क्रिप्टो कम्पनीहरूसँग काम गर्ने बैंकहरूमा प्रतिबन्ध हटाउने निर्णय गरेका कारण क्रिप्टो करेन्सीमा सकारात्मक असर परेको बताइएको छ ।
त्यस्तै ठूला संस्थागत लगानीकर्ताहरूले बिटक्वाइन इटीएफमा अर्बौं डलर लगानी गरेका छन्, जसले गर्दा माग बढेको छ । त्यस्तै लन्डन र थाइल्याण्ड जस्ता बजारहरूमा क्रिप्टो इटीएफको स्वीकृतिले पनि तिनीहरूको स्वीकृति बढाएको छ ।
FACEBOOK COMMENTS