काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखेका चार निर्माण कम्पनीमा अरनिको निर्माण कम्पनी काठमाडौं, एसडी कन्स्ट्रक्सन जनकपुर, मनकामना सप्लायर्स भोजपुर र आरएसए कन्स्ट्रक्सन काठमाडौं रहेको छ ।
ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको छ ।
रामशरण अधिकारी मुख्य व्यक्ति भएको आरएसए कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सिफारिस गरेको छ ।
निरज कुमार मिश्र मुख्य व्यक्ति भएको एसडी कन्स्ट्रक्सनलाई जिल्ला समन्वय समिति बाराको सिफारिसमा कालोसूचीमा राखिएको हो ।
गोमा श्रेष्ठ मुख्य व्यक्ति रहेको मनकामना सप्लायर्सलाई भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको हो । दुवैलाई एक–एक वर्ष कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
FACEBOOK COMMENTS