काठमाडौं । थाइल्याण्ड प्रहरीले भिक्षुहरूसँग यौनसम्पर्क गरेर ब्ल्याकमेल गर्ने गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले उक्त महिलालाई ‘मिस गल्फ’ भनेर चिनिने गरेको जनाएको छ।
थाइल्याण्ड प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मिस गल्फले कम्तिमा नौ जना भिक्षुहरूसँग यौनसम्बन्ध राखेर तिनलाई ब्ल्याकमेल गर्दै विगत तीन वर्षमा करिब ३८ करोड ५० लाख भाट असुलेकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले उनको घरबाट ८० हजारभन्दा बढी तस्बिर र भिडियो बरामद गरेको छ, जुन उनी भिक्षुहरूलाई धम्क्याउन प्रयोग गर्ने गर्थिन्।
यो घटना प्रहरीले पहिलो पटक गत जुन महिनाको मध्यतिर थाहा पाएको थियो। प्रहरीले बताएको अनुसार बैंककका एक प्रमुख भिक्षुले ब्ल्याकमेलमा परेर आफ्नो धर्मगुरुको पद समेत त्याग्नुपरेको थियो।
थाइल्याण्डको स्थानीय सञ्चारमाध्यमका अनुसार गत मे २०२४ मा मिस गल्फले एक भिक्षुसँग सम्बन्ध भएको दाबी गर्दै आफू त्यस भिक्षुको बच्चाकी आमा भएको बताएकी थिइन्। उनले बच्चाको पालनपोषण खर्चका लागि मात्रै ७० लाख भाटभन्दा बढी रकम माग गरेकी थिइन्।
हाल थाइल्याण्ड प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
FACEBOOK COMMENTS