काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले आज नगदसहित सम्मान गरेको छ ।
क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले आयोजना गरेको वर्ल्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मान गरेका हुन् । खेलाडीहरुले जनही १ लाख रुपियाँ र व्यवस्थापकले जनही ५० हजार रुपियाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपियाँ प्रदान गरेका थिए ।
उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुन रहेका छन् । टोलीमा सुस्मा तामाङ्, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल छन् ।
खेलका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के। सी। र टोली नेता पवन घिमिरे रहेका छन् ।
FACEBOOK COMMENTS